पाकिस्तानी दूतावास सर्‍यो, कुनकुन देशका दूतावास भाडामा बसेका छन्?

हिमाल प्रेस २७ असार २०८० १६:१९ | Wednesday, July 12, 2023
पाकिस्तानी दूतावास सर्‍यो, कुनकुन देशका दूतावास भाडामा बसेका छन्?

काठमाडौँ – नेपालस्थित पाकिस्तानी दूतावासको चान्सरी रिङरोडभित्र सरेको छ। नारायण गोपालचोक नजिकै रहेको चान्सरी भवन निर्मल निवासपछाडिको चुनदेवी मार्गमा सरेको हो। पाकिस्तानी दूतावास सरेको छेउमा ब्राजिल र नजिकै श्रीलंकाको दूतावास छ।

पाकिस्तानको नेपालमा आफ्नै जग्गा भए पनि दूतावास भवन भाडामा बस्दै आएको छ। शंखपार्कपछाडि फराकिलो क्षेत्रमा दूतावासको जग्गा छ। त्यहाँ पाकिस्तान दूतावासले समय-समयमा क्रिकेट, फुटबलको मैत्रीपूर्ण खेल खेलाउँदै आएको छ। आफ्नो जग्गा घेरेर राखेको भए पनि दूतावासले भवन बनाउने वा सार्ने निर्णय लिएको छैन। यद्यपि पाकिस्तानले नेपाललाई महत्त्व दिएर जग्गा जोडिराखेको हो।

नेपालमा अधिकांश पुराना दूतावासको आफ्नो सम्पत्ति छ। पछि खुलेका दूतावासको भने आफ्नो सम्पत्ति छैन। भारतीय दूतावास र निवास सबै लैनचौरभित्र छ। त्यहाँभित्र स्कुल र खेल मैदानसमेत छ।

लैनचौरमा भारतीय दूतावाससँगै जोडिएको छ बेलायती दूतावास र राजदूत निवास। बेलायती दूतावासले पनि फराकिलै क्षेत्र ओगटेको छ। चीनको पनि आफ्नै सम्पत्ति छ। बालुवाटारमा चान्सरी र राजदूत निवास रहेको चीनले हात्तीसारमा रहेको भवनबाट कन्सुलर सेवा उपलब्ध गराउँछ।

अमेरिकाको महाराजगन्ज चक्रपथ नजिकै विशाल चान्सरी छ भने नारायणहिटी संग्रहालयअगाडि रिक्रेसन सेन्टर र कमलादीमा राजदूत निवास छ। राजदूत निवास पुरानो भएर मर्मत गर्ने तयारीमा अमेरिकी दूतावास छ।  रूसको आफ्नै सम्पत्ति छ भने जर्मनीको पनि आफ्नै सम्पत्तिभित्र निवास र चान्सरी छ।

स्विसले केही भवन भाडामा लिएर काम चलाइरहेको छ भने केही आफैँले खरिद गरेको छ। फ्रान्स राजदूत निवास बेचेर भाडामा बसेको छ। यद्यपि चान्सरी भएको स्थान भने उसको आफ्नै सम्पत्ति हो। जापानको पनि आफ्नै सम्पत्ति छ।

नेपालस्थित साउदी, कतार, दक्षिण कोरिया, यूएई, उत्तर कोरिया, इजिप्ट, युरोपेली युनियन, नर्वे, फिनल्यान्डलगायतका दूतावास सबै भाडामा छन्। पाकिस्तान दूतावास नजिकै रहेको श्रीलंका र ब्राजिल पनि भाडामा बसेका हुन्। अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश दूतावास पनि भाडामा छन्। पुरानो भएर पनि आफ्नो सम्पत्ति नजोड्दा इजरायल दूतावास भाडामै छ।

प्रकाशित: २७ असार २०८० १६:१९ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast