काठमाडौँ- यूएन वुमन नेपालको प्रमुख प्रतिनिधिको रूपमा प्याट्रिसिया फ्रनान्डेज प्याकियो नियुक्त भएकी छन्। नवनियुक्त प्रतिनिधि प्याट्रिसियाले सोमबार परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्।
उक्त समारोहमा बोल्दै परराष्ट्रमन्त्री साउदले महिला विकास, लैंगिक समानतालगायत विषयमा यूएन वुमनसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले नेपाली महिलाको समग्र विकासमा यूएन वुमनको उल्लेखनीय भूमिका रहेको उल्लेखसमेत गरे।
प्रतिनिधि प्याट्रिसियाले सम विकासका लागि यूएन वुमनका गतिविधिमा नेपाल सरकारको सहयोग रहने अपेक्षा गरिन्। उनले भनिन्, ‘सबैको साथ र सहयोगले विश्वबाटै विभेद र असमानता हटाउन सकिन्छ।’
प्याट्रिसिया २० वर्षदेखि संयुक्त राष्ट्रसंघसँग आबद्ध छिन्। यसअघि उनी कोलम्बिया र भियतनाममा देशीय उपप्रतिनिधिको रूपमा कार्यरत थिइन्। प्याट्रिसियासँग संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालयका साथै इक्वेडर, पानामालगायत देशमा काम गरेको अनुभव छ।