 
                             
                                            रामपुर- पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ। सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताए।
सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय–सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताए।
सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन्।
हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर–५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरु गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 