काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरूले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका हुन्।
अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट नागरिक केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने, सरकारमा जाने पार्टीका नेताहरूलाई जिम्मेवार बनाउनुपर्ने विषय छलफलमा आएको महामन्त्री थापाले बताए।
उनले केन्द्रीय समितिपछि पार्टीलाई पार्टी विधि, विधानअनुसार सहज रूपमा चल्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा समेत सहभागीले जोड दिएको जानकारी दिए।
कांग्रेस सरकारमा सहभागी भएकाले काम र परिणामबाट नागरिकको मत जित्नुपर्ने जिल्ला सभापतिहरूको भनाइ रहेको उनले बताए।
छलफलमा २८ जना जिल्ला सभापतिको सहभागिता थियो। उनीहरूले सरकारको बजेटप्रति पनि असन्तुष्टि जनाएका थिए।