एकै दिन १५ अर्ब ६९ करोड ४८ लाख बजेट खर्च

हिमाल प्रेस २१ असार २०८० १५:२८
6
SHARES
एकै दिन १५ अर्ब ६९ करोड ४८ लाख बजेट खर्च अर्थ मन्त्रालय

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० सकिनै लागेपछि सरकारी खर्च ह्वात्तै बढेको छ। आर्थिक वर्ष सकिन दुई हप्ताभन्दा पनि कम अवधि रहेको अवस्थामा दैनिक अर्बौं रुपैयाँ खर्च भइरहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बधुबार मात्रै १५ अर्ब ६९ करोड ४८ लाख बजेट खर्च भएकाे छ।

बुधबार ३ अर्ब ७७ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार बुधबारसम्म पुँजीगत बजेट १ खर्ब ७६ अर्ब ५२ करोड २० लाख रुपैयाँ खर्च भएको छ। उक्त रकम कुल पुँजीगत बजेटको ४६.४१ प्रतिशत हो।

चालु आर्थिक वर्षमा सरकारले पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। पुँजीगत बजेट विकास निर्माणका काममा खर्च गरिन्छ।

महालेखाका अनुसार चालुतर्फको बजेट ८०.८३ प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षमा कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ चालु बजेट विनियोजन गरिएको थियो। बुधबारसम्म ९ खर्ब ५६ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको छ।

कर्मचारीकाे तलबभत्ता, कार्यालयका मसलन्द लगायतमा खर्च गरिने उक्त रकम बुधबार एक दिन मात्रै १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खर्च गरिएको छ। बुधबार वित्तीय व्यवस्थातर्फ १ अर्ब १५ कराेड ८ लाख रुपैयाँ खर्च भएकाे छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वित्तीय व्यवस्थातर्फको बजेट बुधबारसम्म ६८.८९ प्रतिशत खर्च गरिएको छ। सरकारले लिएको ऋण तथा त्यसको ब्याज तिर्नका लागि छुट्याइएको उक्त बजेट बुधबारसम्म १ खर्ब ५८ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खर्च गरिएको छ। चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फ गरी कुल बजेटको ७१. ९९ प्रतिशत खर्च गरिएको छ। चालु आर्थिक वर्षमा कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएकोमा बुधबारसम्म १२ खर्ब ९१ अर्ब ४६ करोड ८० लाख रुपैयाँ बजेट खर्च भएको छ।

राजस्व संकलन न्यून

बजेट स्रोतको रूपमा संकलन गर्नुपर्ने राजस्व चालु आर्थिक वर्षमा न्यून संकलन भएको छ। बुधबारसम्म लक्ष्यको ६२.६८ प्रतिशत राजस्व संकलन गरिएको महालेखाको विवरण छ।

महालेखाका अनुसार कुल राजस्व संकलनको लक्ष्य १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ रहेको छ। बुधबारसम्म ९ खर्ब १४ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ संकलन गरिएको महालेखा नियन्त्रण कार्यालयको विवरणमा उल्लेख छ।

राजस्व संकलन लक्ष्यअनुसार नभएपछि अर्थमन्त्री प्रकाशशरण महतले कर कार्यालयका कर्मचारीलाई राजस्व संकलनका लागि इमान्दार भएर खटिन निर्देशन दिएका छन्। बुधबार मन्त्री महतले आन्तरिक राजस्व विभागसहित मातहतका कर कार्यालयका कर्मचारीहरूसँग छलफल गर्दै उक्त निर्देशन दिएका हुन्।

प्रकाशित: २१ असार २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =