प्रेमविवाहको परिणाम :  घरमा आगजनी, मुद्दा खेप्दै किशोरी पक्ष

हिमाल प्रेस १८ असार २०८० १८:२४
18
SHARES
प्रेमविवाहको परिणाम :  घरमा आगजनी, मुद्दा खेप्दै किशोरी पक्ष अन्तरजातीय प्रेमविवाहको आरोपमा किशोरी पक्षले गरेको आगजनीबाट क्षति भएको जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका मुकेन्द्र नेपालीको घर। तस्बिर सौजन्य : इन्सेक

सुर्खेत- अन्तरजातीय प्रेमविवाहका कारण जुम्लाको तातोपानी गाउँपालिका-४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपालीको घरमा आगो लगाइएको छ। उनले गत साता गाउँकी गिरी थरकी किशोरीसँग प्रेमविवाह गरेका थिए। विवाह किशोरी पक्षका लागि स्वीकार्य भएन। आवेगमा आएका किशोरीका दाजु हिक्मत गिरीले मुकेन्द्रको घरमा आगो लगाइदिए। घर जलेर नष्ट भएको छ। मुकेन्द्र सम्पर्कमा नभएको परिवारका सदस्यले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएको बताए। उनले भने, ‘बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ। मुद्दा दर्ता भइसकेकोले अब घटनाको विस्तृत अनुसन्धान हुनेछ।’

घरमा आगो लगाउने किशोरी पक्षविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय छुवाछुत तथा भेदभावविरुद्धको उजुरी दर्ता भएको हो।

हिक्मत गिरीसहित ५० वर्षीय बुबा श्रीराम गिरी र ४५ वर्षीय काका नारायण गिरीविरुद्ध किटानीसहित जातीय छुवाछुत तथा विभेदको उजुरी दर्ता भएको मुकेन्द्रका दाइ भरत नेपालीले बताए। उनले भने, ‘विवाह वैधानिक नभए कारबाही गर्ने, छलफल गर्ने प्रक्रिया अनेक थिए। तर दलित केटाको घरमा सुनियोजित ढंगबाट आगो लगाइयो।’ भरतका अनुसार मुकेन्द्र अहिले परिवारका कसैको सम्पर्कमा छैनन्।

दलित केटा पक्षबाट प्राप्त निवेदनका आधारमा घरमा आगोले लगाउने किशोरी पक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको छ।

मुकेन्द्रका दाइ भरतले असार १७ गते बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा हिक्मत गिरीलाई गिडीखोला गाउँबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी अनुमान छ। पीडित भरतले क्षतिपूर्तिको मागसहित किटानी दिएका छन् ।

किशोरी पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पेस गरेको स्कुलको मार्कसिटअनुसार १५ वर्ष पनि नपुगेको देखिन्छ। जोशीले भने, ‘आधिकारिक विवाह गरेको त देखिएको छैन। केटाले भगाएर लिएको देखिन्छ। यो घटना बालविवाह, बलात्कार, अपहरण पनि भएको भनेर उजुरी आउने सम्भावना छ। उमेर नपुगेकाले नाबालिका भएको पनि देखिन्छ। अनुसन्धान गर्दैछौँ।’

प्रकाशित: १८ असार २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast