स्रोत कम हुँदा बजेटमा सबै पक्ष समेट्न सकिएन : अर्थमन्त्री

हिमाल प्रेस १५ असार २०८० ११:५४ | Friday, June 30, 2023
स्रोत कम हुँदा बजेटमा सबै पक्ष समेट्न सकिएन : अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्ष समेट्न नसकेको स्वीकार गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्योलताका बीचमा पनि आफूले जायज कुरा सम्बोधन गरेर बजेट विनियोजन गरेको दाबी गरे।

एउटा कसौँडीमा पाक्न सक्ने चामल तर जन्तीलाई बराबर खुवाउनुपरेको अवस्था रहेको उनको भनइ छ। उनले भने, ‘हाम्रो आम्दानी कसौँडीमा पकाउने चामल छ। सबैको चाहना पूरा गर्न ठूलो खड्कुँलोमा पकाउँदा पनि पुग्दैन। त्यसैले सबैको भावनाको सम्बोधन गर्न सकिँदैन।’

अर्थतन्त्रलाई चलायमान गर्न सक्ने कुरालाई दृष्टिगत गरी बजेट ल्याएको उनको भनाइ छ। उनले भने, ‘अनेकौँ खाले अन्योलबीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो। तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ।

उनले कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी बजेट विनियोजन नगरेको स्पष्ट पारे। मन्त्री महतले भने, ‘कसैको मुख नहेरीकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम गरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजस्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु।’

जनताका माग पूरा गर्नका लागि बजेट ल्याएको दाबी उनको छ। उनले भने, ‘मैले आमनागरिकको आकांक्षाअनुसार बजेट ल्याएको छु, सुशासन, पारदर्शितालाई दृष्टिगत गरी लोभमोह नराखी बजेट ल्याएकोे छु’, मन्त्री महतले भने।

प्रकाशित: १५ असार २०८० ११:५४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast