काठमाडौँ- नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय वस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लामा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितका लागि अति आवश्यकीय वस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘जेठ ३२ गतेदेखि भइरहेको अविरल वर्षाले पूर्वी पहाडमा भएको क्षतिबारे संसद्लाई जानकारी नै छ। ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना, संखुवासभामा २४ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको खबर छ।’
भट्टराईले ताप्लेजुङ जिल्ला राजमार्गबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्।
भट्टराईले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामीले भेट्यौँ। उहाँको नेतृत्वमा स्थलगत अवलोकन गर्ने प्रयत्न भयो। तर मौसम खराबीले त्यो सम्भव भएन। त्यसपछि पनि सम्बन्धित मन्त्रीहरूसँग हामीले पटकपटक छलफल गर्यौँ।’ उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।
प्रधानमन्त्रीले यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि काम हुन नसकेको बताए। भट्टराईले भने, ‘ताप्लेजुङ जिल्लालाई जोडने ३ वटा राजमार्ग अवरुद्ध छन्। मेची राजमार्ग चलेको छैन। ताप्लजुङको सम्पर्क सम्पूर्ण रूपले विच्छेद भएको छ।’
ताप्लेजुङमा मानवीय संकट उत्पन्न भएको भट्टराईले बताए। उनले भने, ‘खाद्य संकट उत्पन्न भएर ठूलो मानवीय संकट उत्पन्न भइरहेको छ। पुलहरू बगाएका छन्। सडकहरू बगाएका छन्। तर जति तदारुकताका साथ त्यसको मर्मत, सम्भार हुनुपर्ने थियो। त्यो हुन सकिरहेको छैन।’
सांसद भट्टराईले हवाई यातायातबाट भए पनि खाद्य, औषधिलगायतका अति आवश्यकीय वस्तुहरुको आपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। यस्तै उनले पुल मर्मत गर्ने ठाउँमा पर्याप्त जनशक्ति नभएको, प्राविधिक इन्जिनियरहरू नपुगेको र सडक मर्मत गर्ने ठाउँमा प्राविधिक नपुगेको जानकारी दिए।