झापा– झापामा अलगअलग घटनामा मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका-२ स्थित चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। भद्रपुर नगरपालिका-७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए
यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी-९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१-०२-००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशामा गुडिरहेको प्र१-०१-००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका-१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी-७ का ४० वर्षीया मुना साह घाइते भएका छन्। घाइतेको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। रासस