‘वायु प्रदूषण रोक्न दाउरारहित चुल्हो’

हिमाल प्रेस ५ असार २०८० १९:०३
42
SHARES
‘वायु प्रदूषण रोक्न दाउरारहित चुल्हो’

काठमाडौँ- वायु प्रदूषण रोक्न दाउरारहित चुल्होको अवधारणालाई अगाडि बढाउनुपर्ने विज्ञहरू बताएका छन्। अझै पनि ग्रामीण क्षेत्रमा चुल्होका लागि दाउराको प्रयोग कायमै छ। दाउराको प्रयोग कम नहुँदासम्म वायु प्रदूषण नियन्त्रण हुन नसक्ने विज्ञहरूको भनाइ छ।

वातावरणविद् भूषण तुलाधरले स्वच्छ हावाका लागि देशलाई दाउरारहित चुल्हो प्रयोगको अभियान थाल्नुपर्ने बताए। उनले वायु प्रदूषण रोक्न विभिन्न संघसंस्था र सरकारबाट भएका प्रयासहरू अपर्याप्त भएको बताए।

ललितपुरस्थित नेपाल वातावरण पत्रकार समूह (नेवापस) को सभाहलमा ‘स्वच्छ हावाको लागि नागरिक आन्दोलन’ विषयमा भएको हाका-हाकी बहसमा बोल्दै तुलाधरले चुल्होका लागि दाउराको प्रयोगलाई घटाउनुपर्ने बताएका हुन्। ‘प्लास्टिकजन्य फोहोर बाल्न रोक्ने अभियानलाई कडाइका साथ अगाडि बढाउनुपर्छ। बाल्नेलाई आवश्यक कारबाही पनि हुनुपर्छ,’ उनले भने।

कार्यक्रममा फोक्सो तथा सघन उपचार विशेषज्ञ रक्षा पाण्डेले वायु प्रदूषणले फोक्सो, दम र क्यान्सरजस्ता रोग लाग्ने मानिसहरूको संख्या बढेको बताइन्। ‘हावामा हुने असंख्य धुलाका कणहरूले फोक्सोमा असर गर्ने र फोक्सोबाट रगतको नलिमा गएर विभिन्न रोग निम्त्याएको छ,’ उनले भनिन्, ‘यसले पक्षाघात बढ्ने र धेरै मानिसको घाँटीमा समस्या पनि थपिएको छ।’ धुलोले मानिसको मानसिक विकास पनि सुस्त हुने भएकोले यसप्रति सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्।

अधिवक्ता रोशनी गिरीले वायु प्रदूषण मानवअधिकारसँग जोडिएको विषय भएकाले संविधानमा उल्लेख गरिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको परिपूर्तिको लागि सकारात्मक कदम चाल्नुपर्ने बताइन्। सरकारसँग नीति योजना भए पनि कार्यान्वयन नगरेको उनको भनाइ छ।

कार्यक्रममा स्वच्छ हावामा सास फेर्ने नागरिकको अधिकार रक्षाका लागि आगामी आर्थिक वर्षको बजेटमा राखिनुपर्ने कार्यक्रमहरूको बारेमा बृहत् नागरिक आन्दोलनले ज्ञापनपत्रमार्फत आफ्ना माग र सुझावहरू पनि प्रस्तुत गरेको थियो।

प्रकाशित: ५ असार २०८० १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast