सुर्खेत- कर्णाली प्रदेशसभा परिसर बाहिर आन्दोलनमा उत्रिएका दलित समुदायका अगुवा खगेन्द्र सुनारलगायतलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट दलितमैत्री नभएको भन्दै हिरासतमै आफ्ना माग पूरा नभएको भन्दै अनसन बसेका सुनारको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।
असार १ गते कर्णाली प्रदेशसभाले बजेट प्रस्तुत गरेको थियो। दलितका लागि दलित आन्दोलनको समूहले प्रदेशसभा बाहिर बजेटको प्रतीक्षा गरिरहेको थियो। बजेटमा दलितहरूका लागि कुनै योजनाहरू सम्बोधन नगरिएको भन्दै आक्रोशित भएपछि प्रहरी र सो समूहबीच झडप भएको थियो।
झडपका क्रममा अश्रुग्यास तथा लाठीचार्जसमेत गरिएको थियो। प्रहरी आन्दोलनका अगुवाइ गर्ने खगेन्द्र सुनारसहित १० जनालाई नियन्त्रणमा लिएर गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।
हिरासतमै रहेका खगेन्द्रले पानीसमेत नपिएर आफ्ना मागहरू पूरा गराउन अनसन बसेका छन्। यसैक्रममा सोमबार राती खगेन्द्रको स्वास्थ्यमा गम्भीर समस्या आएपछि प्रदेश अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्था जटिल भएपछि उनले अनसन नतोड्ने बताएको छ।
म्याद थप गरेर मुद्दा
यता प्रहरीले नियन्त्रणमा लिएका १० जनालाई सार्वजनिक सम्पत्तिको तोडफोडलगायतमा मुद्दाका लागि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान बढाएको छ।
सुर्खेतका प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापाले जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए। उनले सार्वजनिक सम्पत्ति तोडफोडको मुद्दा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
संघसंस्थाहरूद्वारा विरोध
यसैबीच दलित संघसंस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी आफ्ना मागहरू राख्ने क्रममा भएको प्रहरी ज्यादतिको विरोध जनाएका छन्। संयुक्त राजनीतिक दलित संघर्ष समितिले कर्णाली प्रदेशमा दलितको जनसंख्या सवैभन्दा धेरै भएको र दलितको विकासका लागि बजेटमा कुनै योजना सम्बोधन नभएको भन्दै आफ्ना माग राख्ने क्रममा प्रहरीले ज्यादति गरेको उनीहरूले आपत्ति जनाएका छन्।
बजेटमा दलित समुदायका लागि स्पष्ट शीर्षक र रकम तोकेर बजेट बिनियोजन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ। साथै प्रहरी हिरासतमा रहेका सवैलाई विना शर्त रिहाई गर्न र कानुन विपरित कुनैपनि गतिविधि नगर्न सुझाइएको छ।