गोरखामा २ वर्षअघि बन्नुपर्ने खानेपानी आयोजना अझै अपूरो

हिमाल प्रेस २ असार २०८० २१:०३
2
SHARE
गोरखामा २ वर्षअघि बन्नुपर्ने खानेपानी आयोजना अझै अपूरो फाइल तस्बिर।

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका-४ धावामा २ वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझै सम्पन्न भएको छैन। वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका चौतारा टोल, दमैगाउँ, अम्बोटे, घडेरी गाउँका स्थानीयलाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले निर्माण सुरु भएको आयोजना ४ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। निवर्तमान वडाध्यक्ष मदनकुमार शाक्यले २ वर्षमा बन्नुपर्ने आयोजना ४ वर्ष बित्दा पनि बन्न नसकेको बताए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७६ असारमा २ वर्षभित्र आयोजना निर्माणको काम सम्पन्न गर्ने गरी कन्काई गोरखा एप्रोपिरेट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। तर आयोजना अहिलेसम्म पनि सम्पन्न हुन नसकेको वडाध्यक्ष शाक्यले बताए। ‘पछिल्लो समय झन्डै एक वर्ष आयोजना निर्माणको काम नै भएन,’ श्रेष्ठले भने।

आयोजनाको अहिलेसम्म ७५ प्रतिशत काम सकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिए। ‘भौतिक प्रगतिको अवस्था हेर्दा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आयोजनाअन्तर्गत अहिलेसम्म तीनवटा पानीट्यांकी, प्रशोधन प्रणाली संरचना निर्माण तथा पाइप खरिदको काम सम्पन्न भइसकेको छ।’

आयोजना निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको लापरबाहीसँगै बजेटको अभाव पनि रहेको आयोजना सम्बद्ध अधिकारीहरूको भनाइ छ। सम्झौताअनुसार ठेकेदारले २०७८ वैशाखभित्रै आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो। निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गरिसकेको प्रमुख पौडेलले बताए। ‘दोस्रोपटक थप गरिएको म्यादअनुसार २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ,’ उनले भने। रासस

प्रकाशित: २ असार २०८० २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast