शरणार्थी प्रकरणकाे जवाफी बहस सकियाे, थुनछेक आदेश आजै आउने

हिमाल प्रेस १ असार २०८० १३:४२ | Friday, June 16, 2023
शरणार्थी प्रकरणकाे जवाफी बहस सकियाे, थुनछेक आदेश आजै आउने शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा थुनछेकसम्बन्धी जवाफी बहस सकिएकाे छ। प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट बिहीबार थुनछेक बहस सकिएपछि आज शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका थिए।

जवाफी बहस आज दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिएका थिए। तर २ बज्नुभन्दा अगाडि नै जवाफी बहस सकियाे। अब आजै साँझसम्म थुनछेकसम्बन्धी आदेश आउने अनुमान गरिएको छ।

पूर्पउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थहरू अभियुक्त रहेको यो प्रकरणमा ३० जनालाई अभियुक्त बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा विभिन्न चारवटा कसुरमा मुद्दा दायर गरेको थियो।

प्रहरीले ६० दिनको अनुसन्धान गरेर यो प्रकरणको अनुसन्धान प्रतिवेदन वकिल कार्यालयलाई बुझाएको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंमा अभियुक्तहरूविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, सरकारी कागजात किर्ते र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। २७ करोडभन्दा धेरै रकम बिगो दाबी गरिएको छ।

यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने १२ जना फरार छन्। पक्राउ परेका अभियुक्तहरूको तर्फबाट ८० जनाभन्दा धेरै कानुन व्यवसायीहरूले बहस गरेका थिए। उनीहरूले पुर्पक्षका लागि अभियुक्तहरूलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए।

तर सरकारी वकिलहरूले भने अभियुक्तहरूलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्। शरणार्थी प्रकरणमा मुछिएका उच्चपदस्थहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नागरिक अगुवाहरूले पनि दबाब दिइरहेका छन्।

प्रकाशित: १ असार २०८० १३:४२ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast