शारदा खनालको दोस्रो कृति ‘मूकदर्शक’

हिमाल प्रेस ३२ जेठ २०८० १८:१८ | Thursday, June 15, 2023
शारदा खनालको दोस्रो कृति ‘मूकदर्शक’

काठमाडौँ– साहित्यकार शारदा खनालको दोस्रो कृति प्रकाशित भएको छ। उनको ‘मूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो। संग्रहमा १२ वटा कथा संगृहीत छन्। ती कथाहरू विवश मातृत्व, मुखिया बा, स्वार्थले छोपेको माया, दृष्टिकोण, मूकदर्शक, आखिरी पल हुन्।

यस्तै मृत्युत्सव, अपराधको पराकाष्ठा, दोहोरो बुहार्तन, रूपान्तरण, दिवास्वप्न, अन्तर्घात प्रस्तुत संग्रहका अन्य कथा हुन्। २०६० सालपछि कथा लेख्न थालेकी खनालका सातवटा यसअघि नै विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्। पाँचवटा कथा भने पछिल्लो समयमा लेखिएका हुन्।

समालोचक डा. शैलेन्दुप्रकाश नेपालले शारदाका कथाहरू सामाजिक पृष्ठभूमिमा आधारित रहेको र तिनमा व्यक्ति सोचका स्वार्थमय पुरातना प्रवृत्तिलाई खोतल्ने प्रयास गरिएको बताएका छन्।

अर्की समालोचक अनुपमा रेग्मीका अनुसार वर्तमान समाजमा बदलिँदै गएका व्यक्तिगत, पारिवारिक एवम् सामाजिक मर्यादा, स्वरूप र प्रवृत्ति खनालका कथाका मुख्य विषय हुन्। कथा उठानको प्रारम्भ विगतबाट गर्ने र त्यसबाट व्युत्पन्न घटनाको चिरफार गर्दै वैयक्तिक दृष्टिकोण दिई कथामार्फत समयानुकूल आदर्शको स्थापना गर्नु खनालको कथाका विशेषता रहेको रेग्मीको बुझाइ छ।

खनालले भनेकी छन्, ‘कथामा मैले अन्य कथाकारका भन्दा भिन्न शैली, दृष्टिकोण र विषयको उठान गर्न खोजेकी छैन। बरु मेरो आँखाले देखेका समाजका यथार्थ वस्तुस्थितिलाई पाठकका आँखामा प्रस्टाउन खोजेकी छु।’

सञ्जीवनी अनुसन्धान केन्द्र पाल्पाले प्रकाशन गरेको कथासंग्रहको समीक्षात्मक भूमिका डा. नेत्रप्रसाद न्यौपानेले लेखेका छन्। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत खनालको यसअघि आख्यानकार विश्वेश्वरप्रसाद कोइराला : व्यक्ति, कृति र प्रवृत्ति नामक समालोचनात्मक कृति प्रकाशित छ।

प्रकाशित: ३२ जेठ २०८० १८:१८ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast