बजेटको आकार ठूलो र अवास्तविक : गगन थापा

हिमाल प्रेस २८ जेठ २०८० २१:५७ | Sunday, June 11, 2023
बजेटको आकार ठूलो र अवास्तविक : गगन थापा प्रतिनिधिसभा बैठकमा सांसद गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले बजेटको आकार ठूलो र अवास्तविक रहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उक्त कुरा बताएका हुन्।

थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएमा परिणाम निस्कनेमा विश्वास व्यक्त गरे। उनले भने, ‘बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ।’

सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाई जनतामा देखिएका निराशालाई आशामा परिणत गर्नेगरी बजेटले लिएको लक्ष्य परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘अर्थमन्त्री आफैँ पनि यति ठूलो बजेटको आकार ल्याउन चाहनुहुन्नथ्यो। यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि उहाँले बुझ्नुभएको छ। यहाँ प्रस्तुत भइसकेपछि बचाउ पनि गर्नुपर्‍यो। अवास्तविक छ भन्ने कुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छ।’

थापाले बजेटमा साना व्यापारीका समस्या सम्बोधन हुन नसकेको बताए। ‘लामो समयदेखि सञ्चालन भएका उद्योग कलकारखाना पनि समस्यामा देखिन्छन्। उनीहरू निराश छन्। उनीहरुले बजेटलाई कति अंक दिन्छन् भन्ने कुरा कार्यान्वयनमा भर पर्छ।’

साधरण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए।
बजेटमा कर प्रणाली सुधार, कार्यान्वयन क्षमता बढाएर साधरण खर्च घटाउने प्रस्तावित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने उनले बताए।

प्रकाशित: २८ जेठ २०८० २१:५७ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast