आर्थिक वर्ष सकिन ३६ दिन बाँकी, विकास खर्च ३८ प्रतिशत मात्रै

हिमाल प्रेस २७ जेठ २०८० १८:२६ | Saturday, June 10, 2023
आर्थिक वर्ष सकिन ३६ दिन बाँकी, विकास खर्च ३८ प्रतिशत मात्रै

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० सकिने ३६ दिन बाँकी छ। सरकारले करिब दुई साताअघि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट समेत सार्वजनिक गरिसकेको छ। तर चालु आर्थिक वर्षको बजेट खर्च भने दयनीय छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म कुल बजेटको ६४.३८ प्रतिशत खर्च गरिएको छ। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बजेट रहेकामा शुक्रबारसम्म ११ खर्ब ५४ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ।

उक्त खर्च कुल विनियोजित बजेटको ६४.३८ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुँजीगत खर्च शुक्रबारसम्म ३८.५८ प्रतिशत मात्रै भएको छ।

कुल ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा १ खर्ब ४६ अर्ब ७४ करोड ५० लाख रुपैयाँ खर्च गरिएको कार्यालयको तथ्यांक छ। पुँजीगत विकास निर्माणका काममा गरिने खर्च हो।

त्यस्तै वित्तीय व्यवस्थातर्फको खर्च चालु आर्थिक वर्षमा ६२.२९ प्रतिशत खर्च भएको महालेखाको विवरण छ। कुल २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएकोमा शुक्रबारसम्म १ खर्ब ४३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खर्च गरिएको छ।

वित्तीय व्यवस्थातर्फको बजेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट विगतमा लिएको ऋण तथा त्यसको साँवा तिर्नमा खर्च गरिन्छ। सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन पनि लक्ष्यअनुसार गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २७ जेठ २०८० १८:२६ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast