काठमाडौँ- सहकारी पीडितले बचत फिर्ताको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै उक्त विरोध प्रदर्शन गरिएको बताएको छ।
सहकारीबाट ठगिएका पीडितहरूले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राखेका छन्। सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोका चहार्दा समेत बचत फिर्ता नभएको भन्दै धर्नामा उत्रिएको बताएका छन्।
संघर्ष समिति अध्यक्ष सुनिता सिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकायहरू धाउँदा पनि कतैबाट केही सुनुवाई नहुँदा पीडितहरू संयुक्त रूपमा सडक आन्दोलनमा आएको बताइन्।
सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने माग पीडितले गरेका छन्। सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले सडक आन्दोलनमार्फत न्याय माग्न बाध्य भएको उनको भनाइ थियो।
काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा पनि सुनुवाई कतैबाट पनि नभएको सुनिता सिंह राजभण्डारीको गुनासो छ। अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको पनि उनले बताइन्।
सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको उनको भनाइ थियो।