प्रदर्शनकैबीच बसेको काेशी प्रदेशसभा बैठकमा कसले के भने?

हिमाल प्रेस १४ जेठ २०८० १९:४८
6
SHARES
प्रदर्शनकैबीच बसेको काेशी प्रदेशसभा बैठकमा कसले के भने?

इटहरी- आइतबार कोशी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीहरूले आन्दोलन गरेका छन्। आन्दोलनले उग्ररूप लिँदा कम्तीमा ५० जना घाइते भएका छन्।

यसैबीच बाहिर झडप र संसद्भित्रको अधिवेशनले प्रदेशसभाका विभिन्न दलका संसदीय दलका नेताहरूले छलफलको माध्यमबाट अहिले भइरहेको आन्दोलनको निराकरण गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले अहिले प्रदेशमा भइरहेको आन्दोलन वार्ताको माध्यमबाट समाधान हुनुपर्ने बताएका छन्। उनले प्रदेशसभा बैठकमा प्रहरीको घेराबाट प्रदेशसभा सञ्चालन गर्न आँफूहरूमा समेत नैतिकता हुनुपर्ने बताए। ‘वार्ता गर्न के आपत्ति छ? वार्ता गर्दैमा कोशी प्रदेश खारेज गर्नुपर्छ भन्ने छैन,’ थापाले भने, आन्दोलनरत पक्षलाई हामीले सम्झाइबुझाइ गरेर आन्दोलनलाई शान्त पार्न त सकिन्छ।’

उनले नीति कार्यक्रम, बजेटभन्दा पहिले आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्नेमा जोड दिए। ‘अहिले आन्दोलन चलिरहेको बेलामा हामी दलहरूबीच मत फरक भइरहेको छ,’ उनले भने, ‘नेकपा एमाले आन्दोलनसँग भिडेर जाने हो कि जस्तो देखिएको छ। माओवादी केन्द्रले गल्ती भएछ भनेर विज्ञप्ति निकालेर हात खुट्टा उचालेर बसेको छ। अब नेपाली कांग्रेसको दृष्टिकोण भनेको नामकरणको नैतिक जिम्मेवारी हामी लिन्छौँ। तर, वार्ता सरकारले गर्नुपर्छ।’

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको नाममा भइरहेको आन्दोलन तत्काल वार्ता र संवादबाट हल गर्नुपर्ने बताए।

नामकरणमा भइरहेको आन्दोलन वार्ताको माध्यमबाट निराकरण गरिनुपर्ने उनको भनाइ छ। ‘अहिले ढुंगा हान्ने साथीहरू हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरू हुन् सबैको अभिभावक सरकार हो,’ उनले भने, ‘यो संघीय सरकारतिर फर्काएर धर पाउदैनौँ। हामीले सिर्जना गरेको समस्या हो। यसको समाधान हामीले नै दिनुपर्छ।’

उनले पहिचानको नाममा भइरहेको आन्दोलनले ठूलो अशान्ति निम्तिने भन्दै सबै दल र पार्टी जिम्मेवार हुनुपर्ने बताए। उनले आन्दोलनकारीलाई शान्ति खलबलाउनेभन्दा पनि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आह्वान गरे।

बजेट अधिवेशनमा स्वास्थ्यमन्त्री तथा जसपाकी सांसद निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको बताइन्। ‘स्वास्थ्य मन्त्रालय दोहोरो मारमा परेको छ,’ लिम्बूले भनिन्, ‘प्रदेशको औषधि, खोप तथा स्वास्थ्यसँग सम्बन्धित काम गर्नुपर्ने मन्त्रालयलाई किन सुरक्षा दिन सकिएन?’ पहिचान पक्षधर भएका कारण सरकारको र सरकारका मन्त्री भएका कारण पहिचान पक्षधरको निशानामा आफू परेको उनको गुनासो छ।

‘सरकार पक्षबाट अश्रुग्यास प्रहार भएको छ।आन्दोलनकारीले प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइदिएका छन्। मन्त्रालयभित्र तोडफोड गरेका छन्,’ उनले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भयो। मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने?’

प्रदेशसभाको बजेट अधिवेशन आइतबार सुरु भएको छ। सोही कारण विराटनगरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ। अधिवेशन बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

नेकपा एकीकृत समाजवादी कोशी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिचानको आन्दोलनलाई दमन गरेको आरोप लगाए।

उनले यसअघि पत्रकारहरूसँग कोशीका पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने बताएका थिए। ‘माओवादीले थप छलफल गरेको भन्ने सुनेको छु’ राईले भने, ‘राणकालमा पनि यस्तो हुँदैनन्थयो। मुख्यमन्त्री आफै आन्दोलनरत पक्षलाई चिड्याउन भाषण गरिरहनुभएको छ। यसबाट सरकारले दमन गरेको नै पुष्टि हुन्छ।’

विराटनगरमा बाहिर प्रदर्शन, भित्र संसद् बैठक : ६१ सेल अश्रुयास प्रहार

प्रकाशित: १४ जेठ २०८० १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast