नक्कली शरणार्थी प्रकरणमा संसदीय छानबिन समिति बनाउन रविको माग

हिमाल प्रेस १० जेठ २०८० ११:४९
8
SHARES
नक्कली शरणार्थी प्रकरणमा संसदीय छानबिन समिति बनाउन रविको माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी काण्डमा संसदीय छानबिन विशेष समिति बनाउन माग गरेका छन्। बुधबार संसद् बैठकमा उनले अहिले भइरहेको छानबिनबाट विश्वास गर्ने वातावरण नभएको भन्दै छानबिन समिति बनाउन माग गरेका हुन्।

कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई लक्षित गर्दै उनले सार्वजनिक भएको अडियोका विषयमा पनि प्रभावकारी ढंगले अनुसन्धान हुनुपर्ने बताए। ‘सार्वजनिक अडियो प्रहरीले सही हो भनेका छन्, तर मुछिएका व्यक्तिहरूलाई सोधपुछ गर्न किन डराएको?,’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो कहाँ गएर चेक गर्ने? यस्तो गम्भीर विषयमा खुट्टा कमाउन भएन।’

साथै उनले अहिलेको छानबिनले जनताले चाहेको नतिजा दिन नसक्ने पनि बताए।

संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछानेले बोलेका कुरा जस्ताको तस्तै:

भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ। तीन राजनीतिक दलहरू खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ। आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन, राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरूको नाम आइरहेको छ।

यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिउँसै, दिनदहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरू आइरहेका छन्। यहाँ मुछिएका मान्छेहरू हेर्नुस्। यो राज्यमा हामीले कसलाई विश्वास गर्ने? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ।

यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु, ज–जसको नाम आएको छ। तिनलाई छानबिनको सम्म दायरामा ल्याउनु नहुने, सोधपुछसम्म गर्नु नहुने गरी किन डराएको? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो।

प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। उहाँको मुटु कहाँ गएर चेक गर्ने? उहाँको मुटु कति दह्रो छ भन्ने कुरा हामीले देखेका छौँ। हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुपर्‍यो। उनलाई कारबाहीको दायरामा ल्याउनुपर्‍यो। खुट्टा कमाउनु भएन। हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकड गरेर लिएर गएको इतिहास छ। न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु।

मान्छेले अडियो दिएका छन्। प्रहरी प्रमुखले अडियो सही हो भनेका छन्। एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू? यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा यो कदापि हुन दिँदैनौँ। यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन। संसद्ले विशेष समिति बनाउनुपर्छ। म अनुरोध र माग गर्न चाहन्छु।

प्रकाशित: १० जेठ २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =