पोखरा- नेपाल प्रेस युनियन कास्कीले युनियन आबद्ध चार पत्रकारलाई पुरस्कृत गरेको छ। संस्थाको १० औं जिल्ला अधिवेशन अवसरमा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार विमला भण्डारी, रमेश पौडेल, रवीन्द्र बास्तोला र नवीन सिग्देललाई सम्मान गरे।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई ५१ हजार राशिको सुप्रेम शारदा पत्रकारिता पुरस्कारबाट सम्मान गरियो। युनियनले वितरण गर्ने पुरस्कारमध्ये सबैभन्दा ठूलो धनराशिको सो पुरस्कार प्राप्त गर्ने भण्डारी पहिलो हुन्।
संविधानसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले २०७६ सालमा आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा युनियनले संचालन गर्ने गरी पुरस्कारको लागि ६ लाखको अक्षयकोष स्थापना गरेका थिए।
यस्तै, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत भए। सो पुरस्कार वर्ष २०७७ का लागि पौडेल र वर्ष २०७९ का लागि बास्तोलालाई जनही ३३ हजार ३३३ रुपैयाँ सहित सम्मान गरिएको हो।
युनियनले १२ लाख अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ।
यसैबीच प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार नवीन सिग्देल पुरस्कृत भए। पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित सो पुरस्कारको राशि २५ हजार ५२५ रुपैयाँ हो।
तीन लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक दुई वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ। युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देल गत महिनामात्रै नेपाल पत्रकार महासंघ कास्कीबाट पोखरा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए।