रहस्यमय दुर्घटनाको ३० वर्ष, ‘सत्यतथ्य कहिले बाहिर आउँछ?’

हिमाल प्रेस ३ जेठ २०८० ६:२९
22
SHARES
रहस्यमय दुर्घटनाको ३० वर्ष, ‘सत्यतथ्य कहिले बाहिर आउँछ?’

काठमाडौँ-  नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको ३० वर्ष बितेको छ। २०५० साल जेठ ३ गते दुवै नेता चढेको गाडी पोखराबाट चितवन जाँदा दासढुंगामा दुर्घटनामा परेर त्रिशूलीमा खसेको थियो।

घटनामा चालक अमर लामा भने बाँच्न सफल भएका थिए। घटनापछि विभिन्न छानबिन आयोग गठन भए। तर आजसम्म कुनै विश्वसनीय तथ्य बाहिर आएको छैन। उक्त घटनाको १० वर्षपछि साक्षी पात्र अमर लामाको पनि हत्या भयो। त्यसपछि दासढुंगा प्रकरण झन् रहस्यमय बनेको छ।

२०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए। उनीपछि एमालेबाटै माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली सत्ताको नेतृत्वमा पुगे। एमालेबाट पटकपटक सत्ताको नेतृत्व सम्हाले भए पनि न गम्भीर छानबिन भयो न त छानबिन भएका प्रतिवेदन नै सार्वजनिक गरिए।

मदनकै निधनपछि २०५० सालमा काठमाडौँमा भएको उपनिर्वाचनबाट नेपाली राजनीतिमा सक्रिय भएकी विद्या राजनीतिक रूपमा त सफल भइन् तर उनी राष्ट्रपति बन्दासमेत घटनाको सत्यतथ्य आउन सकेन।

मदन–आश्रितको निधनपछि उनीहरूका सम्झना/सम्मानमा नागरिक र पार्टीका तहबाट भने धेरै काम भएका छन्। राज्यका तर्फबाट मदन भण्डारी राजमार्ग निर्माण जारी छ। झापाको बाहुनडाँगीबाट सुरु भई डडेल्धुराको रुपालसम्मको यो राजमार्गको रेखांकन चुरे र भित्री मधेशका जिल्लालाई आधार मानिएको छ। यसको लम्बाइ १३९० किलोमिटर हुनेछ।

यसैगरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन २०७९ निर्माण भई विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढेको छ। भण्डारीका नाममा शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट बर्सेनि करोडौँ रकम विनियोजन हुँदै आएको छ।

एमालेले संस्थागत मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ। यस्तै मदन भण्डारी फाउन्डेसन देशभर विस्तार भएका छन्। आज देशभर विभिन्न कार्यक्रम आयोजना भण्डारी र आश्रितको सम्झना गरिँदैछ।

नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दैछ। एकीकृत समाजवादीले बुधबार ३० औँ मदन-आश्रित स्मृति दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो। आज पनि मञ्चमा बोल्ने नेताहरूले प्रश्न गर्नेछन्, दासढुंगा जिप दुर्घटनाको रहस्य कैले बाहिर आउँछ?

प्रकाशित: ३ जेठ २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =