काठमाडौँ- यतिबेला देशकै ठूलो एयरलाइन्स कम्पनी ‘बुध्द एयर’को सम्पत्ति विवाद सतहमा आएको छ। बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका भाइ शिवेन्द्रबहादुर बस्नेतले आफ्नो ४० प्रतिशत सेयर स्वामित्वको हिसाबकिताब नभएको भन्दै पत्रकार सम्मेलन गरेरै असन्तुष्टि पाखेका छन्।
शिवेन्द्रको भनाइलाई बुध्द एयरको व्यवस्थापनले खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ। २०५३ सालमा सुरेन्द्रबहादुर बस्नेतले बुध्द एयर खोलेका थिए। जसमा सुरेन्द्रका दुई छोरा वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतको सेयर थियो। तर शिवेन्द्रले २०५६ सालमा सेयर बेचेर बाहिरिएका थिए। त्यसपछि उनले माउन्टेन एयर खोलेका थिए। तर माउन्टेन व्यावसायिक रूपमा असफल भएपछि उनी अमेरिका हिँडेका थिए।
बुध्द एयरका संस्थापक अध्यक्ष सुरेन्द्रका नाममा ८० प्रतिशत सेयर स्वामित्व थियो। केही महिनाअघि उनको निधन भयो। सुरेन्द्रले आफ्नो नाममा भएको सेयर दुई छोराको परिवारको नाममा बराबर बकसपत्र गरेका थिए।
अहिले बुध्द एयरमा ६० प्रतिशत स्वामित्व वीरेन्द्र र उनको परिवारका नाममा तथा ४० प्रतिशत स्वामित्व शिवेन्द्रको परिवारका नाममा छ। बुध्द एयरले जारी गरेको विज्ञप्तिअनुसार शिवेन्द्रको नाममा भने बुध्द एयरमा कुनै पनि सेयर छैन। उनका श्रीमती, छोरी र छोराको नाममा भएको ४० प्रतिशत हिस्साको अधिकार आफूमा भएको दाबी गर्दै शिवेन्द्रले पत्रकार सम्मेलन गरेका थिए।
वीरेन्द्रले आफ्नो सेयर भएको बुध्द एयरबाट कमाएर राइस मिल खोलेको भन्दै त्यसको पनि आफूले हिस्सा पाउनुपर्ने शिवेन्द्रले बताएका छन्। हालै वीरेन्द्रको नेतृत्वमा आरजु चामल उद्योग सञ्चालनमा आएको छ।
व्यापारिक घरानाका लागि बुध्द एयरका मालिक दाजुभाइबीचको झगडा नौलो होइन। ज्योति समूह, खेतान समूह, नाङ्लो बेकरीलगायत व्यापारिक समूहका दाजुभाइबीच पनि सम्पत्तिको झगडा सतहमा आएका थिए। दाजुभाइको बेमल र सम्पत्ति बाँडफाँटपछि अधिकांश व्यापारिक समूह ओरालो लागेका छन्।
करिब तीन वर्षअगाडि ज्योति समूहका दाजुभाइबीच सम्पत्तिका विषयमा झगडा भएको थियो। सम्पत्ति बाँडफाँटबाट सुरु भएको झगडा अन्त्यमा छुट्टीभिन्न भएर टुंगियो। विवादले साम्य हुन लामो समय लागेको थियो। अहिले यो समूहको व्यवसाय एकपछि अर्को असफल भइरहेका छन्।
तीन वर्षअघि पद्म ज्योति र रूप ज्योतिले सार्वजनिक सूचना प्रकाशित झगडा छताछुल्ल पारेका थिए। गोरखापत्रमा ज्योति समूहको अध्यक्षबाट पद्म ज्योतिलाई हटाइएको सूचना प्रकाशन गरिएको थियो। उक्त सूचनाअनुसार दाइ पद्म ज्योतिलाई हटाएर भाइ रूप ज्योति अध्यक्ष बनेका थिए।
त्यतिबेला दाजुभाइबीचको झगडा उनी मातहतका कम्पनीका कर्मचारीसम्म पुगेको थियो। कान्तिपथस्थित ज्योति भवनमा दुई समूहबीच तोडफोड गर्नेसम्मका गतिविधि भएका थिए।
काठमाडौँको पुरानोमध्ये एक ‘नाङ्लो रेस्टुरेन्ट एन्ड पब’ पनि दाजुभाइको झगडाका कारण लामो समय बन्द रह्यो। उक्त रेस्टुरेन्ट श्याम र गोपाल कक्षपति दाजुभाइको थियो। त्यही क्रममा गोपालले कमलादीमा नाङ्लो रेस्टुरेन्ट एन्ड पबका नाममा नयाँ व्यवसाय सुरु गरेपछि दाजुभाइको झगडा अदालतसम्म पुग्यो।
नाङ्लो सन् १९७६ मा खोलिएको थियो। ब्रान्डका रूपमा स्थापित भइसकेको नाङ्लो सबैसामु परिचित भइसकेको थियो। नेपालमा रेस्टुरेन्ट/क्याफे संस्कृति सुरुवात गराउने श्रेय पनि नाङ्लोलाई जान्छ। दाजु श्याम र भाइ गोपालले सगोलमा चलाइरहेको नाङ्लो ब्रान्ड अन्ततः पारिवारिक झगडाको सिकार बन्यो। अहिले यो ब्रान्ड विरासत फर्काउन नसक्ने अवस्थामा पुगेको छ।
रामलाल गोल्छाले जग बसाएको व्यापारिक घराना गोल्छा अर्गनाइजेसन सात वर्षअघि छुट्टियो। रामलालले विराटनगरबाट सन् १९३१ मा व्यापार सुरु गरेका थिए। ८५ वर्ष सगोलमै व्यापार गरेको गोल्छा परिवारमा रामलालका नाति पुस्ताबीच सम्पत्ति विवाद भएपछि अंशबन्डा भएको थियो। विराटनगर जुट मिल गोल्छा परिवारले नै सुरुवात गरेको हो।
सम्पत्तिको विवाद भएपछि रामलालका दुई छोरा हंसराज र हुलासचन्दका ९ छोरामा भाग लगाइएको थियो। हंसराजका पाँच र हुलासचन्दका चार छोरा छन्। रामलालको छोरीतर्फकी नातिनीज्वाइँ ज्ञानचन्द दुगडलाई पनि केही सम्पत्ति भागबन्डा गरिएको थियो।
हंसराज एन्ड हुलासचन्दअन्तर्गत करिब एक सय कम्पनी ९ छोराहरूलाई बाँडिए पनि अहिले धेरै कम्पनी अस्तित्वमै छैनन्। गोल्छा समूहअन्तर्गत शेखर गोल्छाले नेतृत्व गरिरहेका बजाज, हिम इलेक्ट्रोनिक्स, केटीएम बाइक, हुलास इन्भेस्टमेन्टलगायत व्यवसाय सफल छन्। दिवाकर गोल्छाको हुलास स्टिल पनि फाइदामै चलिरहेको छ।
व्यापारिक साझेदारहरूबीच भएका विवादले पनि धेरैको व्यापारिक वर्चस्व डामाडोल बनाएको छ। यसको अग्रणीमै पर्छन्- राजेन्द्र खेतान। उद्योगपति मोहनगोपाल खेतानका जेठा छोरा राजेन्द्र खेतानले युवा अवस्थामै चर्चित व्यवसायीको छवि बनाएका थिए। बुबाको छत्रछायाले छाडेपछि उनको परिचय ‘झगडिया’ व्यवसायी बन्यो।
आठ वर्षअघि खेतानको मुख्य लगानी रहेको एभरेस्ट इन्स्योरेन्सको विवाद छताछुल्ल भएको थियो। खेतान समूह र टिवडेवाला समूहबीचको विवादले सार्वजनिक रूप लिएको थियो। खेतान समूहले प्रवद्र्धन गरेको लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्समा पनि ठूलो विवाद भएको थियो।
प्रवर्धकहरूबीच विवादका कारण लक्ष्मी बैंकले एक वर्ष हकप्रद सेयर जारी गर्नै पाएको थिएन। पछिल्लो समय खेतानको लगानी रहेको गोर्खा ब्रुअरीको विदेशी साझेदारसँग पनि विवाद भएको थियो। गोर्खा ब्रुअरीको व्यवस्थापन स्थानीय रूपमा खेतान समूहले हेथ्र्यो। खेतानले १० करोड रुपैयाँ राजस्व छलेपछि डेनिस मल्टिनेसनल कम्पनी काल्र्सबर्ग ग्रुप र खेतान समूहबीचको विवाद अदालतलसम्म पुगेको थियो।