राजाले पत्याएका जनताले विश्वास गरेका सुरेन्द्रबहादुर बस्‍नेत

मस्त केसी ११ पुष २०७९ १२:०७
88
SHARES
राजाले पत्याएका जनताले विश्वास गरेका सुरेन्द्रबहादुर बस्‍नेत

बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आइतबार बिहान निधन भयो। भोजपुरको दिंगलास्थित साल्मामा १९८४ साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका थिए।

उच्च शिक्षा अध्ययन गरेका व्यक्ति निकै कम भएका बेला एमए, एलएलबी अध्ययन गरेपछि उनी गाउँमा परिचित बनेका थिए। बस्नेतपछि उनका भाइ-भतिजाहरूले पनि बनारसबाट स्नातकसम्मको अध्ययन गर्ने मौका पाए।

पढेलेखेका भएकै कारण २०१२ सालमा पूर्वाञ्चल भ्रमणमा रहेका बेला राजा महेन्द्रले बस्नेतसँग १० मिनेट जति भेटघाट गर्दा उनलाई धेरैले तारिफ गरेका थिए। त्यति बेला सामान्य मान्छेका लागि राजाले महत्त्व दिएर भेट्नु ठूलो उपलब्धिको कुरा थियो।

७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेका बस्नेतले त्यसअघि विभिन्न सरकारी निकायका उच्च पदमा बसेर प्रतिष्ठा आर्जन गरिसकेका थिए। २०२१ सालअघि बस्नेत मोरङ जिल्ला पञ्चायतको सभापति थिए।

स्थानीयबासीले दोस्रो पटक सभापति बन्न आग्रह गरे पनि प्रधानमन्त्री सूर्यबहादुर थापाले बोलाएपछि उनी काठमाडौँ आएका थिए। थापाकै आग्रहमा राजा महेन्द्रसँग भेटवार्ता भएपछि बस्नेतले सर्वोच्च अदातलमा न्यायाधीश हुने अवसर पाएका हुन्।

राजा महेन्द्रको लालमोहर पाएर २०१२ मै तीन वर्षका लागि सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। तर उनी एक वर्ष ११ महिना मात्रै सर्वोच्चमा रहे।

बस्नेत अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कानुन, न्याय तथा शिक्षामन्त्री भएका थिए। त्यसका साथै राजाले गठन गर्ने विभिन्न शाही आयोगको नेतृत्व पनि बस्नेतले सम्हालेका थिए।

२०२२ सालको अन्त्यतिर नवलपरासीको परासी बजारमा गाउँले र बजारबासीबीच दोहोरो भिडन्त भएको थियो। केही घाइते र अंगभंग भएको उक्त घटनाले राष्ट्रिय रूपमै चर्चा पाएको थियो।

चुनाव सकिएको एक महिनापछि बस्नेतले प्रमुख आयुक्तको पदबाट राजीनामा दिए। लगत्तै राजा महेन्द्रले उनलाई २०२४ जेठ १४ मा राष्ट्रिय पञ्चायतको सदस्यमा नियुक्त गरे। सोही दिन कानुन, न्याय तथा शिक्षामन्त्री बनाए।

सोही घटनाको छानबिन गर्न राजा महेन्द्रले ‘निष्पक्ष शाही छानबिन आयोग’ गठन गरे। १५ दिन समय तोकिएको उक्त अयोगको अध्यक्षको जिम्मेवारी बस्नेतले पाएका थिए।

२०३६ सालमा राजाले गठन गरेको अर्को आयोगमा पनि बस्नेत सहभागी थिए। २०३५ साल चैतमा विद्यार्थी आन्दोलनले देशव्यापी रूप लिएको थियो। त्यही कारण २०३६ वैशाख १९ गते शिक्षामन्त्री पशुपतिशमशेर जबराले राजीनामा दिए।

त्यसपछि राजा वीरेन्द्रले आन्दोलन जाँचबुझका लागि ‘उच्चस्तरीय शाही आयोग’ गठन गरे। जसको नेतृत्व सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीराज मिश्रले संयोजकको रूपमा गरेका थिए। राष्ट्रिय पञ्चायतका उपाध्यक्ष लोकेन्द्रबहादुर चन्द, त्रिविका पूर्वउपकुलपति सूर्यबहादुर शाक्य र सुरेन्द्रबहादुर बस्नेत सदस्य थिए। उनी प्रेस काउन्सिलका प्रथम अध्यक्ष हुन्।

२०२३ सालमा बस्नेत निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भएका थिए। उनी नेपालको पहिलो प्रमुख निर्वाचन आयुक्त हुन्। उनी प्रमुख आयुक्त भएकै बेला २०२४ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भएको थियो।

चुनाव सकिएको एक महिनापछि बस्नेतले प्रमुख आयुक्तको पदबाट राजीनामा दिए। लगत्तै राजा महेन्द्रले उनलाई २०२४ जेठ १४ मा राष्ट्रिय पञ्चायतको सदस्यमा नियुक्त गरे। सोही दिन कानुन, न्याय तथा शिक्षामन्त्री बनाए।

२०२४ सालमा शिक्षा तथा कानुनमन्त्रीको जिम्मवारीमा रहेकै बेला बस्नेतले अर्थमन्त्रीको पनि जिम्मेवारी पाएका थिए। सूर्यबहादुर थापा प्रधानमन्त्री एवं अर्थमन्त्री रहेकै बेला भारतले एकतर्फी रूपमा नेपाली र भारतीय रुपैयाँको सटही दर बराबर हुने घोषणा गर्‍यो। यसले नेपालको आर्थिक अवस्था समस्याग्रस्त भयो। आयात-निर्यात असन्तुलित भयो। नेपाली सामानको निर्यात ठप्पजस्तै भयो।

यसको व्यवस्थापका लागि राजा महेन्द्र पश्चिम नेपालको भ्रमणमा रहेकै बेला सुरेन्द्रबहादुर बस्नेतलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए। राजा महेन्द्रले पत्याएका व्यक्ति हुनाले बस्नेतको काम गर्ने शैली फरक रहेको स्मरण गर्छन् उनको मातहतमा काम गरेका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ। उनी भन्छन्, ‘मैले बस्नेतको नेतृत्वमा रहेर निकै समय काम गरेँ। राजनीतिक मानिस र राजा महेन्द्रले पत्याएका व्यक्ति हुनाले पनि उहाँको काम गर्ने फरक शैली थियो। मेरो त्यसपछिको यात्रा आयोगमै भयो।’

राजनीतिमा सक्रिय रहेकै बेला बस्नेतले २०३४ सालमा कृषि विकास बैंकबाट ११ लाख रुपैयाँ ऋण लिएर विराटनगरमा कृषि फार्म सञ्चालन गरेका थिए। उनले त्यति बेला भारतको आसाम, गुवाटी र दक्षिण भारतको भुसाल गाउँबाट उन्नत बीउ ल्याएर झन्डै ११ सय रोपनी जमिनमा मालभोग, बसाराइ ड्वार्फ र हाइब्रिड रोबस्टा जातका केरा लगाएका थिए।

अहिले सोही स्थानमा उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

नेपाल र नेपालीलाई हवाई सेवाको सहज पहुँचमा पुर्‍याउन बस्नेतले ठूलो योगदान दिएका छन्। उनले स्थापना गरेको बुध्द एयरले सन् १९९७ अक्टोबर ११ मा पहिलो व्यावसायिक उडान गरेको थियो। अहिले यसको नेतृत्व उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले गरिरहेका छन्।

निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई कम्पनी बुध्द एयरको आन्तरिक उडानमा ५६ प्रतिशत हिस्सा छ।

प्रकाशित: ११ पुष २०७९ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =