मासहिस्टेरिया : एक दशकदेखिको सास्ती, तड्पिँदै विद्यार्थी

हिमाल प्रेस ३१ वैशाख २०८० २०:३८
190
SHARES
मासहिस्टेरिया : एक दशकदेखिको सास्ती, तड्पिँदै विद्यार्थी

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ मा रहेको रायपुर आधारभूत विद्यालय विगत करिब १ दशकदेखि सास्तीमा छ। पढ्नका लागि विद्यालय पुगेका बालबालिका पालैपालो रुने, कराउने गर्छन्। एकले अर्कोलाई देखेर विद्यार्थी सामुहिक रूपमै चिच्याहट गर्ने, लड्ने समस्या विद्यार्थीमा देखिन्छ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले विद्यार्थीमा देखिएको समस्याले शिक्षक शिक्षिका पनि हैरान भएक‍ो जानकारी दिए। उनका अनुसार यो समस्या विगत १ दशकदेखिको हो। ‘यो समस्या २०६९ सालबाटै देखिन थालेको हो,’ उनले भने, ‘बीचमा कहिले काँही निको पनि हुन्छ। तर स्थायी समाधान हुन सकेन।’

विद्यार्थीमा देखिने उक्त समस्या विभिन्न लेखहरूको आधारमा मास हेस्टेरिया नै हुन सक्ने अनुमान विद्यालयका शिक्षक शिक्षिकाले गरेका छन्। त्यसको समाधानका लागि पहल नगरेका पनि हैनन्।

उक्त समस्याको समाधानका लागि गाउँपालिकाको शिक्षा शाखा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश शिक्षा विकास निर्देशनालयमा जानकारी गराइएको तर त्यहाँबाट कुनै पनि सहयोग नपाएको गुनासो प्रधानाध्यापक चन्दको छ। विद्यार्थीमा काम्नेसमेत समस्या देखिएकाले स्थानीयको दबाबमा झाँक्री पनि लगाउने गरिएको छ।

तर त्यसबाट पनि समस्या समाधान नभएपछि विद्यार्थी झन्‌झन्‌ तड्पिँदै गएका छन्। ‘कहिलेकाँही निको हुन्छ। पढाउने वातावरण बन्छ,’ प्रधानाध्यापक चन्दले भने, ‘कहिले एक हप्तासम्म लगातार बिरामी हुने समस्या देखिन्छ। कहिले महिना, दुई महिनामा फेरि समस्या देखिन्छ र पढाइको वातावरण बन्न सकेको छैन।’

सरस्वती मन्दिर निर्माण रोकियो

यसअघि विद्यार्थी कामेर विद्यालयमा सरस्वती मन्दिरसम्म नभएको र बनाउनुपर्ने औँल्याएपछि विद्यालयले चन्दा संकलन गरेर सरस्वतीको मिन्दर निर्माण प्रक्रिया अघि बढाएको थियो। तर निर्माणकै क्रममा विद्यार्थी बिरामी भएपछि उक्त काम पनि रोकिएको छ।

समस्या समाधानका लागि  गाउँपालिकाको शिक्षा शाखालाई पटकपटक लिखित पत्र पठाइको थियो। तर स्थानीय सिंहदरबार भनिएको गाउँपालिकाले पत्र फिर्ता पठाइदिएको छ। पत्रमा विद्यालयको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न आग्रह गरिएको थियो। स्थानीय ‘आम्चोरा स्वास्थ्य चौकी’मा विद्यार्थीको स्वास्थ्य जाँचका लागि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहल गरिदिन आग्रह गरे पनि गाउँपालिकाले पत्र दर्ता नै नगरी फिर्ता पठाएको गुनासो चन्दले गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहोराले गाउँपालिकामा आधिकारिक पत्र नआएको बताए। ‘मैले पनि फेसबुकमा देखेर थाहा पाएको थिएँ। समस्या त छ,’ उनले भने, ‘गाउँपालिकाको शिक्षा शाखामा पत्र आएको बारे मलाई थाहा छैन।’

यस विषयमा बुझेर गाउँपालिकाले आवश्यक समन्वय गरिदिने बोहोराको भनाइ छ। गाउँका बुढापाकाले देवीदेवताका कारण त्यस्तो भएको शंका गरेका कारण पनि समस्याको वास्तविकता पत्ता लाग्न नसकेको उनको भनाइ थियो। प्रधानाध्यापक चन्दले सरकारले वा कुनै गैरसरकारी संस्थाले नै पनि परामर्शदाताका लागि सहयोग गरेर पठनपाठनको वातावरण बनाइदिन आग्रह गरे।

प्रकाशित: ३१ वैशाख २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast