माओवादी लडाकुका नाममा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली

हिमाल प्रेस २८ वैशाख २०८० १२:५६ | Thursday, May 11, 2023
माओवादी लडाकुका नाममा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टोनमेन्ट काण्डबारे अनुसन्धान गर्न खुट्टा नकमाउन अख्तियारलाई आग्रह गरेका हुन्।

उनले भने, ‘क्यान्टोनमेन्टमा नभएका मानिसका पैसा बुझिएको छ। राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्। राज्यको ढुकुटी रित्याएर अर्बौँ पैसा कुम्ल्याउन मिल्छ?’

उनले लडाकुको रकम हिनामिना प्रकरणलाई अख्तियारले होल्ड गरेर राख्न नहुने बताए। अध्यक्ष ओलीले भने, ‘म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौँको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ? यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने?’

अध्यक्ष ओलीले बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप पनि लगाए। उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गरे। उनले माओवादी केन्द्रको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुका नाममा भ्रष्टाचार गर्न लागेको आरोप लगाए।

उनले भने, ‘बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि सुरु हुँदैछ।’

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए। उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने? भन्ने हिसाबले चलखेल भइरहेको आरोप पनि लगाए।

उनले भने, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ, जोसुकैको नाम आओस्, यदी दोषी छ भने कारबाही हुन्छ।’

उनले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिने तर दोषी नै हो भनेर करार गर्न नसकिने बताए। उनले भने, ‘त्यसको अदालती छानबिन प्रक्रिया बाँकी हुन्छ। हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ। कता धकेल्ने भन्ने प्रयास भइरहेको छ। पूर्वाग्रह र आधारहीन ढंगबाट अभिव्यक्ति र एमालेविरुद्ध निराधार प्रकाशन आएका छन्।’

अध्यक्ष ओलीले भ्रष्टाचारविरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप पनि लगाए। उनले संसद्मा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको बताए। उनले भने, ‘त्यही दिन सिंहका विरुद्ध अख्तियारमा उजुरी पर्नु शंकाको विषय हो।’ भ्रष्टाचारविरुद्धमा बोल्ने विपक्षीलाई धम्की दिने काम भइरहेको आरोप ओलीको छ।

अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको बताए। उनले सरकारी सम्पती निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर किमसन खानेकुरा सह्य नहुने चेतावनी दिए।

प्रकाशित: २८ वैशाख २०८० १२:५६ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast