धनगढी- संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रम शुभारम्भ गरेको छ। कार्यक्रमले पश्चिम नेपालमा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमताको सुदृढीकरण गर्ने विश्वास लिइएको छ।
‘विपद् जोखिम व्यवस्थापन कार्य तथा कार्यान्वयनमा जुट्न प्रादेशिक र स्थानीय सरकारहरूको संस्थागत ज्ञान र क्षमताको सुदृढीकरण’ का लागि ‘सिकाइ’ कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रममार्फत यूएसएआईडीले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रादेशिक र स्थानीय सरकारलाई सहयोग उपलब्ध गराउनेछ। आईओएमले यूएसएआईडी र नेपालका आन्तरिक मामिला तथा कानुन, गृह, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको साझेदारीमा समन्वय र प्राविधिक सहयोग उपलब्ध गराई कार्यक्रम कार्यान्वयन गर्नेछ।
कार्यक्रमको प्रशंसा गर्दै अमेरिकी राजदूत थम्पसन भने, ‘यस कार्यक्रमले संघीय नीति, कानुन र संरचनाअनुरूप राष्ट्रियदेखि स्थानीय तहसम्म विपद् पूर्वतयारी र प्रतिकार्यका प्रयासहरूमा नेपाललाई सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको जारी प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ।’
नेपालस्थित यूएसएआईडीकी प्रमुख सेपिडे केभान्साडले भने, ‘नेपालका सर्वाधिक विपद् संकटापन्नमध्येका केही समुदाय रहेका सुदूर पश्चिम र कर्णाली प्रदेशमा ‘सिकाइ’ को ध्यान केन्द्रित हुनुले नेपालका सर्वाधिक संकटापन्न समूहलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमा काम गर्ने हाम्रो प्रतिबद्धतालाई चित्रित गर्दछ।’
आईओएमका कार्यवाहक प्रमुख आसिफ रज्जाकले सिकाइले दुई प्रदेशहरूमा संविधान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले निर्देश गरेबमोजिम विपद् जोखिमसम्बन्धी नियमनलाई सुदृढ बनाउने लक्ष्य लिएको जानकारी दिए।
‘सिकाई’ कार्यक्रमका लागि यूएसएआईडीको अनुदान रकम ६ लाख अमेरिकी डलर (करिब ७.८ करोड रुपैयाँ) छ भने यसको अवधि १८ महिना छ।