मन्त्रीहरूलाई फन्को लगाइरहेका प्रधानमन्त्री, ‘भाग्यमानी’ नारायणकाजी

हिमाल प्रेस २० वैशाख २०८० १९:३०
62
SHARES
मन्त्रीहरूलाई फन्को लगाइरहेका प्रधानमन्त्री, ‘भाग्यमानी’ नारायणकाजी प्रचण्ड । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्याबिनेट बुधबार फेरि विस्तार भएको छ। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोलिपल्ट पुस ११ गते मन्त्रिपरिषद् गठन गरेका थिए।

माओवादी, एमाले, रास्वपा र जनमत पार्टी सम्मिलित क्याबिनेट प्रधानमन्त्री, तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय थियो। तीन जना उपप्रधानमन्त्रीमा भौतिक पूर्वाधार तथा यातायातसहित नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल र गृह मन्त्रालयसहित रवि लामिछाने जिम्मेवारीमा थिए। ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री भए पनि उनीहरूले जिम्मेवारी पाउनचाहिँ माघ ३ गतेसम्म पर्खनुपर्‍यो।

माघ ३ गते विस्तारित मन्त्रिपरिषद्‌मा राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्रीको जिम्मेवारीमा नियुक्त भए। अब प्रचण्ड मन्त्रिपरिषद् प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री भए।

अन्य दलका थप नेताहरूले पनि मन्त्री जिम्मेवारी पाए। मन्त्री बन्नेहरूमा रेखा शर्मा (सञ्‍चार तथा सूचना प्रविधि), विक्रम पाण्डे (सहरी विकास), ज्वालाकुमारी साह (कृषि तथा पशुपक्षी विकास), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्ति), राजेन्द्रकुमार राई (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण), अब्दुल खान (खानेपानी), विमला राई पौड्याल (परराष्ट्र), पदम गिरी (स्वास्थ्य तथा जनसङ्‌ख्या), भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक), हरिप्रसाद उप्रेती (रक्षा), सुदन किराती (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन), शिशिर खनाल (शिक्षा, विज्ञान तथा प्रविधि), डोलप्रसाद अर्याल (श्रम, रोजगार तथा सामाजिक सुरक्षा), ध्रुवबहादुर प्रधान (कानुन, न्याय तथा संसदीय मामिला) थिए।

यस्तै राज्यमन्त्री बन्नेमा सुशीला सिर्पाली ठकुरी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), तोसिमा कार्की (स्वास्थ्य तथा जनसङ्‌ख्या), र दीपकबहादुर सिंह (ऊर्जा, जलस्रोत तथा सिँचाइ) थिए।  यति हुँदा पनि वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने दाहाल आफैँले राखेका थिए।

माघ १४ बाट भने प्रचण्ड क्याबिनेटमा पहिरो जान थाल्यो। त्यसको पहिलो सिकार भए उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने। नागरिकता प्रकरणमा सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि उनको पद त गयो नै। माघ २२ मा आइपुग्दा रास्वपाबाट मन्त्री बनेकाहरू शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएर मन्त्रालय रिक्त बनाइदिए।

प्रचण्ड सरकारमा फागुन १४ गते अर्को पहिरो गयो। त्यो थियो राप्रपाले सरकार छाड्नु। उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानको राजीनामा स्वीकृत भयो। राप्रपाबाटै राज्यमन्त्री भएका दीपकबहादुर सिंहले पनि सरकार छाडे।

त्यसको दुई दिनपछि फागुन १६ गते एमालेबाट नियुक्त भएका आठै जनाले राजीनामा दिए। पुस १० मा तयार भएको माओवादी एमाले गठबन्धन तोडिन पुग्यो। राजीनामा दिनेमा विष्णुप्रसाद पौडेल (उपप्रधान एवम् अर्थ), ज्वाला कुमारी साह (कृषि तथा पशुपक्षीविकास), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्ति), राजेन्द्रकुमार राई (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण), विमला राई पौड्याल (परराष्ट्र), पदम गिरी (स्वास्थ्य तथा जनसङ्‌ख्या), भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) र हरिप्रसाद उप्रेती (रक्षा) मन्त्री थिए। चैत १५ सम्म माओवादी र जनमत पार्टी मात्रै सरकारमा थियो।

चैत १७ मा प्रचण्ड क्याबिनेटमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी सामेल भए। कांग्रेसका पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी पाए। प्रकाशशरण महत (अर्थ), रमेश रिजाल (उद्योग वाणिज्य तथा आपूर्ति) र सीता गुरुङ (सहरी विकास) मन्त्री भए।

माओवादीका शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी भए। एकीकृत समाजवादीबाट वेदुराम भुसाल (कृषि तथा पशुपक्षी विकास) र प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायात) मन्त्री र जसपाका अशोककुमार राई (शिक्षा, विज्ञान तथा प्रविधि) मन्त्री भए भने लोकतान्त्रिक समाजवादीका शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाए।

यस्तै नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भए। नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भइन्। जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले सोही दिन राजीनामा दिए।

वैशाख ३ मा प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट एक मन्त्री र एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिदिए। कांग्रेसका एनपी साउद परराष्ट्रमन्त्री भए भने एकीकृत समाजवादीकी नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी छन्।

वैशाख १० मा फेरि तीन मन्त्री नियुक्त भएका छन्। कांग्रेसबाट मन्त्री नियुक्त हुनेमा धनराज गुरुङ (कानुन, न्याय तथा संसदीय मामिला), मोहनबहादुर बस्नेत (स्वास्थ्य तथा जनसंख्या) र डिगबहादुर लिम्बु (युवा तथा खेलकुद) मन्त्री छन्।

प्रचण्ड क्याबिनेटमा पुस ११ गते मन्त्री भएर अहिलेसम्म कायम रहिरहने एक मात्र भाग्यमानीमा नारायणकाजी श्रेष्ठ छन्। पुस ११ मा भौतिक पूर्वाधार तथा यातायातसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठको बढुवा भएको छ। रवि लामिछानेले गृहमन्त्री पद गएपछि श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =