काठमाडौँ- वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा चिकित्सक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
उनका बुवा मुरलीप्रसादको खोजी भइरहेको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले मंगलबार डा. ढकाललाई नियन्त्रणमा लिएको हो।
मंगलबार अपरान्ह पक्राउ परेकाले बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाउने बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। उनका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गराएका थिए।
वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपरान्ह डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोशी अस्पतालमा कार्यरत डा. ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइट नोट पनि फेला परेको प्रहरीले बताएको छ।
उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकी छन्। सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका प्रहरीको भनाइ छ। प्रहरीका अनुसार डा. ढकाल र मृतक श्रेष्ठबीच प्रेम सम्बन्ध रहेको थियो। रासस