के रास्वपा सरकारमा जाला?

हिमाल प्रेस १८ वैशाख २०८० ७:३५
6
SHARES
के रास्वपा सरकारमा जाला? फाइल तस्बिर

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक आज सोमबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बिहान ११ बजे केन्द्रीय कार्य समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको रास्वपाले जनाएको छ।

केन्द्रीय कार्य समितिको बैठकमा सरकारलाई दिएको समर्थन बारे गम्भीर समिक्षा हुने बताइएको छ।
केही दिनअघि पार्टीका सभापति रवि लामिछानले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताएका थिए।

उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सत्ता गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको भन्दै सरकारलाई दिएको समर्थन बारे पार्टीमा गम्भिर छलफल गर्ने र आवश्यक निर्णय गर्ने उल्लेख गरेका थिए।

सोही अनुसार रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने बारे छलफल गर्न बैठक बोलाएको हो।

आइतबार(हिजो) मात्रै पार्टी सभापति लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

लामिछानेले भने आफ्नो पार्टीले सरकारको नीति तथा कार्यक्रममा राखेका एजेण्डा हटाएकामा असन्तुष्टि व्यक्त गरेका थिए।

जवाफमा प्रचण्डले सरकारमा सहभागी भए नीति तथा कार्यक्रममा एजेण्डा पुनः राख्ने आश्वासन दिएका थिए। तर पार्टी सभापति लामिछाने भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने तयारीमा रहेको बुझिएको छ।

आजको केन्द्रीय समितिको बैठकमा लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा भएको कुराकानी पनि राख्ने बताइएको छ।

यसैगरी, आजै दिउँसो ३ बजे बस्ने संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने गर्ने बताइएको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेको हो। दलको नेतामा पार्टी सभापति लामिछानेलाई चयन गर्ने रास्वपाको तयारी छ।

प्रकाशित: १८ वैशाख २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast