एउटै विधेयक पारित नगरी सकियो संसद्को हिउँदे अधिवेशन

हिमाल प्रेस १६ वैशाख २०८० ७:३६ | Saturday, April 29, 2023
एउटै विधेयक पारित नगरी सकियो संसद्को हिउँदे अधिवेशन

काठमाडौँ- संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए।

कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन्।
बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए।

प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो।

ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए।

यसैगरी बैठकले सांसदहरू मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ।
एउटै विधेयक पारित भएन
हिउँदे अधिवेशनमा संसद्बाट नीति निर्माणका कुनै पनि काम भएनन्।

निर्वाचनपछिको पहिलो अधिवेशन भएकाले तदारुकताका साथ नीति निर्माणका काम हुने अनुमान थियो। तर अति महत्वपूर्ण काम पनि यो संसद्बाट भएनन्।

प्रधानन्यायाधीश नियुक्तिका लागि आवश्यक पर्ने संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९) पारित भएन। जसले गर्दा १४ महिनादेखि अदालत कायममुकायमकै भरमा रहनु पर्‍यो।

सत्तारुढ दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई फास्ट ट्र्याकबाट लैजान खोजेको थियो। तर, यसमा पनि एमालेले समितिमा छलफल हुनुपर्ने अडान लिएपछि विधेयक अगाडि बढ्न सकेन। सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक विधेयक पनि समितिमा पठाउने भएको छ।

त्यसैगरी राष्ट्रियसभाबाट आएको अनुगमन तथा मूल्यांकन विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तरीय वधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, अभिलेख संरक्षण विधेयक प्रतिनिधिसभामा आएको थियो। तर, एउटै पनि पास भएन।

समितिमा पठाउने निर्णय संसदले गर्‍यो। संसद्मा विशेष समय र शून्य समयमा बोल्नेबाहेक उल्लेखीय केही हुन सकेन।

हतारमा संसदीय समिति

अधिवेशन सकिन लाग्दा दलले नाम दिएपश्चात संसदीय समिति भने यही अधिवशेनबाट बने। यसका लागि पनि सभामुख देवराज घिमिरेले धेरै प्रयत्न गरे।

उनले पटकपटक दलका नेतालाई सांसदकाे नाम माग्दा पनि नदिँदा लामो समय लाग्यो। यस्तै लामो समय त संसद्को नियमावली नै बनेन। राजनीतिक दलको खिचातानीका कारण संसद्ले काम गर्न नसकेको कतिपयको भनाइ छ।

प्रकाशित: १६ वैशाख २०८० ७:३६ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast