काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विद्यालयमा राजनीतिक दलका गतिविधि बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। संसद्को हिउँदे अधिवेशको अन्तिम बैठकमा शुक्रबार बोल्दै श्रेष्ठले विद्यालयमा राजनीतिक दलका गतिवधि बन्द गर्न सबै राजनीतिक दललाई पनि सचेत गराए।
उनले आफू निर्वाचित भएको क्षेत्रका विद्यालयमा झण्डासहित अन्य राजनीतिक दलका भ्रातृसंगठनले कार्यक्रम गरेको भन्ने गुनासो आएको र उनीहरूले विद्यालय प्रशासनसँग अभद्र व्यवहार गरेको बताए।
विद्यालयमा राजनीतिक गतिवधि बन्द गर्दै सुसंस्कृत राज्य निर्माणमा सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्। यस विषयमा काठमाडौँ महानगरपालिकाले शिक्षा ऐन नियमावलीविपरीत राजनीतिक दल र त्यसका भ्रातृसंगठनका कार्यक्रमहरू सञ्चालन गरेको सप्रमाण उजुरी प्राप्त भएकाले अब यस्तो भएको पाइएमा विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने यसअघि नै निर्देशन दिइसकेको छ।
तर विभिन्न दल निकट विद्यार्थी संगठनले काठमाडौँ शिक्षा विभागमा विद्यालयमा कार्यक्रम गर्न पाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनले लगाएको ताला महानगरीय प्रहरीले फुटाएको थियो।