स्टाडियो अर्मान्डोबाट करिब डेढ किलोमिटरको दूरीमा छ, भेसुभियस इन्स्टिच्युट। भेसुभियस ज्वालामुखीबारे अध्ययन गर्ने विश्वकै सबैभन्दा पुरानो संस्था हो। यहाँसम्म नापोलीको घरेलु रंगशालाबाट हल्ला पुग्दैन।
भेसुभियसबाट ज्वालामुखी प्रभावित मूलतः तीन क्षेत्रको निगरानी गरिन्छ। पहिलो भेसुभियस पहाडी क्षेत्र, दोस्रो इस्चिया द्वीप र तेस्रो क्याम्पी फ्लेग्री। त्यहाँ विभिन्न किसिमका ‘सर्भिलियन्स’ उकपरण जडान गरिएका छन्। ती क्षेत्रबाट संकलन हुने ताजा तथ्यांक र तस्बिर हेर्न भेसुभियसभित्रको ‘सर्भिलियन्स रुममा’ मा ठूला ठूला ‘स्क्रिन’ झुन्ड्याइएका छन्। यी ‘स्क्रिन’ ले कहिल्यै फुटबल देखाउन पाउँदैनन्।
करिब २० लाख जनसंख्या भएको नेपल्स सहर (जहाँ नापोली क्लब छ) का लागि ज्वालामुखी सम्बन्धी तथ्यांक र निगरानी क्षेत्रबाट आउने तस्बिर स्वाभाविक रुपमा महत्त्वपूर्ण छन्। ‘सर्भिलियन्स रुममा’ जो जो बस्छन्, उनीहरुलाई नापोलीको प्रदर्शन र नतिजाबारे थाहा पाउन मन लाग्छ नै। तर उनीहरु खेल हेर्न पाउँदैनन्। न त रंगशालाको हल्ला नै सुन्न पाउँछन्।
तर पनि नापोलीले गोल गरे, उनीहरु तत्काल थाहा पाइहाल्छन्। कसरी? ‘ज्वालामुखी निगरानीका लागि जडित उकपरणबाट सूचना आउँछ,’ भेसुभियसका निर्देशक फ्रान्सेस्का बियान्को अनुभव सुनाउँछिन्।
सुन्दा अचम्म लाग्न सक्छ, नापोलीको रंगशालामा भएको गोल मात्र होइन, सयौँ माइल परको रंगशालामा भएको गोलबारे पनि भेसुभियसमा रहेकाहरुले थाहा पाउँछन्। ‘यदि दशौँ हजार मान्छे एकैपटक गोलको खुसीयाली मनाउन उफ्रिए, चिच्याए, हामीलाई सिग्नल आइहाल्छ,’ बियान्का भन्छिन्।
उसो त ‘सर्भिलियन्स रुम’ मा रहेकाहरु फुटबलका कारण प्राप्त हुने सिंग्नलबारे चासो दिँदैनन्। केही महिनायता उनीहरु यही गरिरहेका छन्, बेवास्ता। तर जति बेवास्ता गरे पनि सिग्नल आउन कम भइरहेको छैन। किनभने लगातार गोल गरिरहेको छ। जितिरहेकाे छ। यसो भएपछि नापोली समर्थकले खुसीयाली मनाउने भइगए। जति बढी खुसीयाली मनाइन्छ, त्यति नै बढी सिग्नल आइरहन्छन्।
म्याराडोना रंगशालासामु मारियानोको पसल छ। पसलबाहिर उनी हतार हतारमा आकाशे निलो रंगको मफ्लर टाँगिरहेका छन्। अनि मूल्य बताउँदै ग्राहक बोलाइरहेका छन्। यी मफ्लरमा लेखिएको छ ‘नापोली क्याम्पिओनी’। मतलब च्याम्पियन नापोली।
मारियानोको व्यापार बढ्दो छ। यसो हुन थालेको निकै समय भयो। उनीसँग अब अन्तिम मफ्लर मात्र बाँकी छ। इटालेली झण्डा र नम्बर तीन लेखेको ब्यानर त सबै बिक्री भइसके। नापोली सिरी ए च्याम्पियन बनेपछि खुसीयाली मनाउन जे जे चाहिनेवाला छ, ती सबै कुरा नापोली समर्थक किनिरहेका छन्। मफ्लर, ब्यानर, क्लब झण्डा आदि। अनि त मारियानो जस्ता पसले व्यस्त हुने भइहाले।
यो सिजन नापोलीले उचाल्ने लिग उपाधि उसको इतिहासकै तेस्रो हुनेछ। यसअघि नापोली दुई पटक च्याम्पियन बन्दा, टिममा डिएगो म्याराडोना थिए। जब म्याराडानोले नेपल्स छाडे, तब नापोलीको उपाधि मुहान सुक्यो।
नापोली मात्र होइन, पूरै नेपल्स सहर सिरी ए उपाधिको व्यग्र प्रतीक्षामा छ। यसरी प्रतीक्षा गरेको तीन दशक भइसक्यो। प्रतीक्षाको पनि सीमा हुन्छ नि होइन? हो। तब त नापोली समर्थकले १२ महिनाअघि क्लब प्रशिक्षक लुसियानो स्पालेट्टीको कार नै बेपत्ता बनाइदिए। कार फर्काउन समर्थकले राखेको शर्त थियो, यथाशीघ्र राजीनामा।
लिग जित्न लगातार असफल भइरहेपछि समर्थक दिक्क बनेका थिए। समर्थकको दिकदारी यतिमै सीमित थिएन। टिमका स्टार खेलाडीले छाड्दा उनीहरु आक्रोशित बने। रक्षक कालिडौउ कौलीबाली, नेपल्सकै हुर्किएका लोरेन्जे इन्सिन्या, प्रिय फरवार्ड ड्राइस मर्टिन्सले छाडेपछि नापोली संक्रमणकालीन स्थितिबाट गुज्रिनु पर्यो।
यी मुख्य खेलाडीले छाडेपछि नापोली कमजोर बनेको अड्कल काटियो। तर यो अड्कल विपरीतको प्रदर्शन गरेको छ, नापोलीले। लगातार शीर्षस्थान ओगटेको नापोलीभन्दा निकै पछि छन् उपाधि दाबेदार मानिएका अन्य क्लब। एक बिन्दूमा नापोलीले शीर्षस्थानमा १९ अंकको अग्रता कायम गरेको थियो। सिरी ए को इतिहासमा कुनै क्लबले यत्तिको अग्रता यसअघि कायम गर्न सकेको छैन।
केही सातायता नापोलीको प्रदर्शन खस्किएको पक्कै हो। नापोली अप्रिलको पहिलो साता गत सिजनको च्याम्पियन एसी मिलानसँग लिगमा ४–० ले पराजित भयो। च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पनि उही विपक्षीसँग हार्यो। यति हुँदाहुँदै पनि नापोलीले दोस्रो स्थानको लाजियोसँगको दूरी १४ अंक कायम गरेकै छ। लिगमा अब आठ खेल मात्र बाँकी छ। यस्तोमा नापोलीलाई न त लोजियो, न त एएस रोमा वा मिलान सहरका दुई क्लबले भेट्न सक्ने स्थिति छ।
रोमाका प्रशिक्षक जोसे मौउरिन्होले त जनवरीमै नापोलीलाई बधाई दिएका थिए। हुनसक्छ मौउरिन्होले त्यसबेला ठ्टटा गरेका हुन्। तर ठ्टटा गरे पनि सत्य त्यही थियो, नापोली कसैले भेट्न नसक्ने रफ्तारमा अघि बढे्को छ। मिलानका प्रशिक्षक स्टिफियानो पिओलीले त नापोलीलाई उसकै मैदानमा फराकिलो अन्तरले हराएकै दिन भनेका थिए, ‘लिग त नापोलीले जित्छ। नापोलीबारे भन्न मसँग नकारात्मक कुरै केही छैन।’
बाहिर मात्र होइन नापोलीभित्र पनि निकालिएको निक्र्योल हो, हामी इटालीको च्याम्पियन बन्दैछौँ। स्पालेट्टी आफैँ पनि यो निक्र्योलमा सहमत छन्। सहमत भिक्टर ओसिमेनको गोल लय पनि छ। ‘लिग जितेको खुसीयाली नेपल्सले कसरी मनाउँछ, हेर्न आतुर छु,’ नापोलीका लागि २४ खेलमा २१ गोल गरेका नाइजेरियाली स्ट्राइकर ओसिमेन भन्छन्।
क्लब प्रशासन, प्रशिक्षक, खेलाडी मात्र होइन समर्थक पनि आत्मविश्वासी देखिएका छन्। नेपल्स सहर नै ढुक्क छ, लिग जित्नेबारे। यो सहर अन्धविश्वासी छ। ‘अन्धविश्वास त हाम्रो डीएनएमै छ। हामी ग्रिक र रोमनकालीन अन्धविश्वासमा विश्वास गछौँ। पछिल्लो दुई हजार वर्षमा नेपल्स सहरले अनेकथरी संस्कृति देखेको छ, अँगालेको छ। तर सहरले अन्धविश्वास छाडेको छैन,’ स्थानीय पत्रकार मिचेलांगेलो इओसाले भनेका छन्।
सन् १९८७ मा नापोलीले पहिलो पटक सिरी ए जितेको थियो। त्यसबेला खुसीयाली मनाउँदा बनाइएका चित्र अहिले पनि नेपल्सका भित्तामा सुरक्षित छन्। कतिसम्म भने त्यसबेला सहरको मसानघाटमा समेत यस्तो लेखिएको थियो, ‘तिमीहरूलाई के थाहा, के मिस गरिरहेको छौँ भनेर।’
नेपल्स यही मनोभावना पुनः प्राप्त गर्न चाहन्छ। सायद यो सहर कसैको मृत्यु नहोस् भन्ने चाहन्छ। ताकि सबैजना नापोलीले लिग जितेको खुसीयालीको हिस्सा हुन पाउन्।
नेपल्सका सबैजसो नयाँ–पुराना घर, सार्वजनिक भवन, मल आदिमा नापोलीको झण्डा फहरिँदैछन्। सहरका पसल, क्याफे, रेस्टुँरा सबैतिर खेलाडीका पोट्रेट, तस्बिर छन्। नापोलीको झण्डा, ब्यानर र जर्सी नझुन्ड्याएको गल्ली छैन। सिँढीमा सिरी ए ट्रफी चित्र बनाइएका छन्। अब नापोलीको परिचय बद्लिएको छ। नेपल्स सहर फुटबल क्लब भएको सहर होइन। बरु फुटबल क्लबभित्रको सहर हो।
पूरै सहर नै नापोली अंकित चिजहरुले सिँगारिएको छ। प्रत्येकजसो क्याफेले खेलाडीको चित्र भएका लामा लामा ब्यानर टाँगेका छन्। एउटा क्याफेले नापोलीको पहिलो एघारमा पर्ने खेलाडीको मसिना मूर्ति राखेको छ। त्यो पनि ठ्याक्कै ‘ट्याक्टिकल फर्मेसन’ मिलाएर। क्याफे पुग्ने प्रत्येकले यसको तस्बिर खिच्छन्। सधै यस्तो भीड हुन्छ कि केही घण्टामै कफी ‘सोल्डआउट’ को ब्यानर टाँग्नुपर्छ।
यो क्याफे स्पेनी मूलका इटालेली बस्ने बस्तीमा छ। सबैभन्दा बढी सजिएको बस्ती यही हो। जहाँ इटाली घुम्न आएका पयर्टकको घुइँचो हुन्छ। यहाँ भिया इम्मानुएलो डे डिओ नाम गरेको एउटा गल्ली छ, जहाँ म्याराडोनाको ठूलो चित्र बनाइएको छ। उसो त यो चित्र वर्षौँदेखि अस्तित्वमा छ। तर यहाँ आइपुग्ने पयर्टकको संख्या चाहिँ म्याराडोनाको निधनपछि बढेका हो। ‘खेलाडी, फिल्मकर्मी, टेलिभिजनकर्मी यहाँ आइपुग्छन्,’ यो क्षेत्रमा गैरसरकारी संस्था चलाउने रेनाटो कुआग्लिया भन्छन्।
नापोली सिरी ए उपधितर्फ अघि बढ्दै जाँदा भिया इम्मानुएलो डे डिआ पुग्नेको संख्या बढ्दो छ। यस्तो लाग्छ, नापोलीको सफलताले यो क्षेत्रकै कायापलट हुनेवाला छ। पर्यटकको संख्या बढिरहेपछि स्थानीय व्यापार सुध्रिएको छ। सडक व्यापारी नापोलीसँग सम्बन्धित हरेक कुरा बिक्री गरिरहेका छन्।
कुआग्लियाको भने फरक विचार छ। हालको व्यापार वृद्धिलाई उनी क्षणिक मान्छन्। नापोली च्याम्पियन बनेपछि केही समय सहर उल्लासमा हुनेछ। त्यसपछि जब उल्लास सकिन्छ, सहर पुरानै अवस्थामा फर्किनेछ, स्थानीयको व्यापार घट्नेछ, सडक व्यापारीका मफ्लर बिक्ने छैनन्, उनको विचार यही हो।
‘३३ वर्षपछि लिग जित्नु कति विशेष हुनेछ भनेर भन्नै पर्दैन। तर यही सफलताले सहरको मुहार फेरिने आशा गर्नु भ्रम हो,’ कुआग्लिया भन्छन्।
उसो त सहर एकैचोटि परिवर्तन हुँदैन। नेपल्स त अझ सयौँ वर्षदेखि उस्तै छ, फेरिएको छैन। हुन त नापोली भनिए जस्तो अन्धविश्वासी सहर पनि होइन। वा त्यस्तो देखिँदैन। तर लिग उपाधि सहर भित्रने सम्भावना बढ्दै जाँदा नेपल्सबासी सशंकित छन्। कतै आखिरमा नापोली असफल त हुने होइन?
नापोलीका मुख्य फरवार्ड ओसिमेनले यो सिजन ‘फेस मास्क’ फुकालेका छैनन्। नोभेम्बर, २०२२ मा विपक्षी टिमको खेलाडीसँग ठोक्किएपछि उपचारका क्रममा उनलाई ‘फेस मास्क’ लगाउन भनिएको थियो। उनलाई अझै ‘फेस मास्क’ आवश्यकता छ? कि उनमा यो लगाए मात्र राम्रो खेल्ने अन्धविश्वास पलाएको हो? यसै भन्न सकिँदैन।
गत मार्चको कुरा हो, राष्ट्रिय टिमको जिम्मेवारी पूरा गर्न नाइजेरिया फर्कदा ओसिमेनले यो मास्क हराए। संयोगवश उनी त्यसपछि घाइते पनि भए। सिरी ‘ए’ मा मिलानसँगको खेल गुमाए। त्यसमा नापोली पराजित भयो। उनले च्याम्पियन्स लिग क्वार्टरफाइनल पनि खेल्न पाएनन्। त्यो खेलमा पनि उनी देखिएनन्। नापोली फेरि हार्यो। दोस्रो लेगमा भने ओसिमेन मास्क लगाएर मैदान उत्रिए। हुनसक्छ, यो उनको नयाँ मास्क हो। सायद यो पुरानो मास्क जस्तो ‘लक्की चार्म’ साबित नहोला। तर नापोलीले लिग जित्ने नै छ। अर्को सिजन पनि लिग जित्नु नै छ। यस्तोमा ओसिमेन सोच्दा हुन्, ‘मास्क लगाएरै खेल्नुपर्छ, भलै यो नयाँ किन नहोस्।’