प्रधानमन्त्री प्रचण्डसँगै कोको जाँदैछन् इटाली?

हिमाल प्रेस ५ साउन २०८० १९:५०
34
SHARES
प्रधानमन्त्री प्रचण्डसँगै कोको जाँदैछन् इटाली? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- संयुक्त राष्ट्र स‌ंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दैछन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै उनी शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ।

प्रधानमन्त्री दाहाल साउन ८ गते सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुनेछन्। यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही दिननै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन्। यसै गरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा पनि छलफल हुनेछ। यस्तै रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहनेछ। भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्कनेछन्। – रासस

प्रकाशित: ५ साउन २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =