तनहुँ, चितवन र बाराका कांग्रेस सदस्यहरूको कारबाही फुकुवा

हिमाल प्रेस ५ वैशाख २०८० १८:३७ | Tuesday, April 18, 2023
तनहुँ, चितवन र बाराका कांग्रेस सदस्यहरूको कारबाही फुकुवा

काठमाडौँ- नेपाली कांग्रेसले २०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी बनेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरूको अनुशासनको कारबाही फुकुवा गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार यस्तो निर्णय गरेको हो।

यस्तै त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका कार्यकर्तामाथि गरिएको कारबाही पनि फुकुवा गरिएको छ।  समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टी र पार्टीको उम्मेदवारको हितविपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावलीबमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागु हुने पार्टीले जनाएको छ।  पार्टी अनुशासनको कारवाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सबै कार्यकर्तालाई वैशाख १० गते हुने उपनिर्वाचनमा सहभागी हुन समितिले अपिल गरेको छ।

समिति संयोजक आनन्द ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत अनुरोध गरिन्छ।’

प्रकाशित: ५ वैशाख २०८० १८:३७ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast