अबको १२ दिनमा मेलम्चीको पानी काठमाडौँ आइपुग्छ : मन्त्री चौधरी

हिमाल प्रेस १४ मंसिर २०७९ १७:१५
6
SHARES
अबको १२ दिनमा मेलम्चीको पानी काठमाडौँ आइपुग्छ : मन्त्री चौधरी

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने दाबी गरेका छन्।

बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।

जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदम  कुँवरले जानकारी दिए।

मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको बताए।

उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने उल्लेख गरे। सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए।

उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे।

निरीक्षणका क्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको मन्त्री चौधरीको भनाइ छ।

अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताए।

निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको उल्लेख गरे।

हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको उनले स्पष्ट पारे। बाढीले क्षति पुर्‍याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नतिलगायत समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि निर्देशक श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast