काठमाडौँ- केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ। काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ।
प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए। उनले स्याटेलाइट तस्बिर हेर्दा काठमाडौँ उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिए। बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडौँमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा बढेको हो।
प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ। जलवायु तथा विपदविज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए। उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए।
वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए। प्रदूषित हावाका कारण देशैभर हवाई उडानसमेत प्रभावित बन्दै गएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान आइतबार प्रभावित बनेको हो। काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान भने सामान्य भइरहेका बताइएको छ। आइतबार गरिएको हावाको गुणस्तर मापक सूचक आइक्युएयरका अनुसार काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वभरमा पहिलो सूचीमा थियो।
पानी नपरेको खण्डमा वा तीव्र गतिको हावा नचलेमा उपत्यकासहित देशभरको वायु प्रदूषण नघट्ने र अझै केही दिन प्रदूषण कायमै रही जोखिम बढ्दै जाने वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए। रासस