सिन्दुरले रंगियो मध्यपुरथिमि

हिमाल प्रेस २ वैशाख २०८० १६:०० | Saturday, April 15, 2023
सिन्दुरले रंगियो मध्यपुरथिमि

भक्तपुर– हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रंगिएको राताम्मे छ। अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ-आफ्नो टोलका देवी-देवतालाई विराजमान गराइएका खट बोकेर टोल-टोल घुम्दै बालबालिका, युवा युवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे।

शनिबार (आज) मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन्।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले शनिबार (आज) बिहानैदेखि टोल-टोलका देवता विराजमान खट जात्रा गरी टोल-टोल घुमेर बालकुमारी मन्दिर प्रांगणमा २६ देवी-देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाँच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्।

थिमिमा मात्र मनाइने यो जात्रामा एक-अर्कालाई सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाँच्दै हात-हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ। केही वर्षयता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन्।

जात्रामा शनिबार (आज) बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो।

जात्रा सुरु भएपछि पमाहरू हात-हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागत रूपमा मनाउने गरिन्छ। अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। यसमा थिमिको बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल-टोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।

जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ। जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक-अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिएको हो।

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको थियो।

परम्पराअनुसार देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ। अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ। बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवम् उमंग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ।

यस वर्ष वैशाख २ गते शनिबार परेकाले यहाँको खटसहितको जात्रालाई शंखधर चोक हुँदै सूर्यविनायक नगरपालिका-५ स्थित दक्षिण बाराही मन्दिरमासमेत लगिएको छ। धेरै वर्षपछि वैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका मेयर सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

वैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस् भनेर दक्षिण बाराहीमासमेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउँछन्। शनिबार (आज)को जात्रा मध्याह्नसम्म चल्ने र यो जात्रा समापन भएपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने मेयर श्रेष्ठले जानकारी दिए।

जात्राको कांग्रेस नेता प्रकाशमान सिंह, इन्द्र बानियाँ र पार्टीका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, शशि श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल तथा विभिन्न नगरपालिकाका मेयर एवम् उपप्रमुख, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले अवलोकन गरेका थिए। -रासस

प्रकाशित: २ वैशाख २०८० १६:०० | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast