नेकपा एसका प्रवक्ता भन्छन्- मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफलयोग्य थिएन

हिमाल प्रेस १ वैशाख २०८० १५:४९ | Friday, April 14, 2023
नेकपा एसका प्रवक्ता भन्छन्- मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफलयोग्य थिएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ। पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेले फरक मत जाहेर गरे पनि उनको मतप्रति पार्टीमा छलफल गर्न आवश्यक नठानेको खतिवडाले बताए।

न्यौपानेले लगाएका आरोपहरू खण्डन गर्न लायक नरहेको खतिवडाको भनाइ छ। न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाविपरीत रहेको उनले बताए। सचिवालय बैठकले वैशाख ९ गते देशव्यापी रूपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।

काठमाडौँसहित प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको उनले बताए।

चैत अन्तिम साता पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका न्यौपानेले नेकपा एस कम्युनिष्ट सिद्धान्त र पद्धतिअनुसार नचलेको, नेताहरूमा कम्युनिष्ट चरित्र नाश भएर अवसरवाद हाबी भएको, सांसद र मन्त्री बन्नका लागि मात्रै राजनीति गर्नेहरू पार्टीमा रहेको आरोप लगाएका छन्।

प्रकाशित: १ वैशाख २०८० १५:४९ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast