वास्तविक मिटरब्याजी सरकार हो : सांसद ज्ञानबहादुर शाही

हिमाल प्रेस २९ चैत २०७९ १५:१९ | Wednesday, April 12, 2023
वास्तविक मिटरब्याजी सरकार हो : सांसद ज्ञानबहादुर शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘म अहिले सरकारलाई भन्न चाहन्छु- वास्तविक मिटरब्याजी को हो? आज वास्तविक मिटरब्याजी यो सरकार भएको छ । र, यो पछिल्लो तथ्यांकलाई मात्रै हेर्ने हो भने यो आठ महिनामा चालु खर्च मात्रै सरकारले ५१. ४६ प्रतिशत, पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापन खर्च ३७.४१ प्रतिशत गरेको छ,’ उनले प्रश्न गर्दै भने, ‘भएभरको पैसा असारमा मात्रै खर्च गर्ने पुँजीगत खर्च ७८ प्रतिशत खर्च गर्न बाँकी छ। भएभरको पैसा बैंकमा राख्ने, बैंकमा ब्याज खाने, अनि मिटरब्याजी अरूलाई भन्ने?’

शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गरे। उनले बजेट रोक्का गर्नुको कारणबारे एक हप्ताभित्र संसद्‌मा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनीसमेत दिए।

‘वास्तविक मिटरब्याजी कोही छ भने सरकार छ। म सरकारलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु- यसरी मिटरब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसायी र विकास निर्माणको काम ठप्प परेका छन्। यो छिटोभन्दा छिटो दिइयोस्,’ उनले भने, ‘यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्। कर्मचारीले आज तलब खान पाएको छैन। आज निर्माण व्यवसायीहरुले पैसा पाएका छैनन्। यसको जवाफ सात दिनभित्र सम्बन्धित मन्त्रीले दिनुपर्छ। होइन भने हामी सदनमा खडा भएर उभिनेछौँ।’

प्रकाशित: २९ चैत २०७९ १५:१९ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast