उपनिर्वाचनका लागि मतपत्र छपाइ सकियो

हिमाल प्रेस २८ चैत २०७९ २०:१९ | Tuesday, April 11, 2023
उपनिर्वाचनका लागि मतपत्र छपाइ सकियो निर्वाचन आयोग

काठमाडौँ- आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।

मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र वाग्मती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कुल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो। ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ।

बारा क्षेत्र नं २ मा एक लाख १६ हजार, चितवन क्षेत्र नं २ मा एक लाख ३८ हजार र तनहुँ क्षेत्र नं १ का लागि एक लाख ३६ हजार मतपत्र छपाइ गरिएको छ। ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो।

उपनिर्वाचनका लागि कुल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन्। आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार छन्।

आयोगको अद्यावधिक विवरणअनुसार बारा–२ मा एक लाख पाँच हजार २४८, चितवन–२ मा एक लाख २४ हजार ६९५ र तनहुँ–१ मा एक लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्। रासस

प्रकाशित: २८ चैत २०७९ २०:१९ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast