मानव-वन्यजन्तु द्वन्द्व

थातथलो छाड्दै गाउँले

विनोद परियार २६ चैत २०७९ १६:२६
24
SHARES
थातथलो छाड्दै गाउँले फाइल तस्बिर

लुम्बिनी- बाँदर र बँदेलको आतंककै कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट मानिसहरू बसाइँ सर्न थालेका छन्। बाँदर र बँदेलले खेतीपाती सखाप पारेपछि आजित भएका गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानका किसान बसाइँ सर्न थालेका हुन्।

लुम्बिनी प्रदेशका पहाडी बस्ती बाँदर, बँदेलजस्ता वन्यजन्तुका कारण पातलिन थालेको एक अध्ययनले देखाएको छ। लुम्बिनी प्रदेश सरकारले गरेको उक्त अध्ययनमा सहभागी वातावरणविद् युवराज कँडेलले पहाडबाट तराईमा बसाइँ सराइ हुनुमा बाँदर, बँदेलजस्ता वन्यजन्तुको आतंक मुख्य कारण देखिएको बताउँछन्।

गुल्मीका सत्यवती, मालिका, इस्मा, मुसिकोट, मदाने, धुर्कोट, रेसुंगा नगरपालिका, छत्रकोट र रुरु क्षेत्रका केही गाउँमा बाँदर आतंक बढ्दो छ।  सोही कारण ती गाउँमा खेती गर्नेको संख्या घटेको किसानहरूको भनाइ छ। ‘बाँदर र बँदेलले उपद्रो गरेका कारण मकै स्याहार्ने पाइन्न’, इस्मा ४ का किसान कृष्ण कुँवरले भने।

स्थानीय तहका जनप्रतिनिधि पनि बाँदर र बँदेलले दुःख दिन थालेपछि बसाइँ सर्ने क्रम बढेको बताउँछन्। ‘बाँदर र बँदेलका कारण मानिस बसाइँ सराइ गर्न थाले’, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भने।

बाँदर र बँदेलका कारण रुरुक्षेत्र गाउँपालिकामा करिब २५ प्रतिशत मानिसले खेतीपाती छाडेर तराईमा बसाइँ सरेको उनले जानकारी दिए।  ‘गुल्मी, अर्घाखाँचीमा बाँदर र बँदेलको समस्या बढी देखिएको छ। पाल्पा र प्युठानमा पनि यस्तै छ’, कँडेलले भने, ‘तराईका राजमार्ग जोडिएका क्षेत्रमा बढी  समस्या छ।’

पहाडमा रोजगारीका क्रममा विदेश र सहर पस्नेहरूको संख्या बढ्दै जादा गाउँमा पुरुषको संख्या समेत कम भएकाले पनि बाँदर बस्तीतर्फ पस्न थालेको उनको भनाइ छ।
‘पहाडमा पुरुषको संख्या कम छ। बाँदरले महिला र वालबालिकलाई टेर्दैन’, उनले भने, ‘अर्को मुख्य कारण जंगलमा आहाराको कमी हो।’

पहाडमा बाँदर, बँदेल, दुम्सी र तराईमा नीलगाईले किसानलाई समस्यामा पारेको कँडेल बताउँछन्।

वन्यजस्तुका लागि वन व्यवस्थापनमा ध्यान नदिदा बाँदर र बँदेल आतंक बढेको उनले बताए। ‘जंगलको क्षमताअनुसार जीवजन्तुको व्यवस्थापन गर्ने गरी वैज्ञानिक उपायको खोजी गर्नुपर्छ’, उनले भने। जंगलभित्र कुनकुन प्रकृतिका कति जनावर पाल्ने, तिनको आहार र पानीको व्यवस्थापन गरेर वन्यजन्तुमैत्री वन व्यवस्थापन गर्नुपर्ने कँडेलको भनाइ छ।

मानिसमाथि आक्रमण बढ्दो

शान्ति रणपाल पुरानो बुुटवलमा बस्न थालेको तीन दशक भयो। यस अवधिमा उनले मान्छेलाई बाँदरले झम्टिएको घटना विरलै सुनेकी थिइन्। दुुई वर्षयता उनी आफैँ पटकपटक बाँदर आतंकमा परेकी छन्।

८० वर्षीय रणपाललाई गत कात्तिक र पुुसमा गरी दुई पटक बाँदरले आक्रमण गरेको हो। ‘घरमै बसेकी थिएँ। एक्कासि बाँदरले चिथोर्न आयो’, रणपाल भन्छिन्, ‘तिघ्रामा टोकेर रगताम्य बनायो, धन्न छोराछोरीले अस्पताल लगेर उपचार गरेर बाँचे।’

बाँदर आक्रमणबाट घाइते हुने रणपाल एक्ली होइनन्। महावीर इङ्लिस बोर्डिङ स्कुलकी शिक्षिका विष्णा पौडेललाई कक्षाकोठामै प्रवेश गरे बाँदरले झम्टियो। ‘म पढाउँदै थिएँ। ढोकाबाट प्रवेश गरेर झम्टियो’, उनले भनिन्। पढाइरहेका बेला कक्षाकोठामा बेलाबेलामा बाँदर आएर तर्साउने गरेको उनी बताउँछिन्।

‘एकपटक कक्षाकोठामै आएर झम्टियो। एक महिनापछि विद्यालय हाताभित्रै खुट्टामै टोक्यो’, पौडेल भन्छिन्, ‘अब त बाँदर आतंक अति नै भयो। स्थानीय सरकारले कसरी हुन्छ समाधान गरिदिनुपर्‍यो।’

बुटवल उपमहानगरपालिका–१ पारी बुटवलकी नेहा खाती बाँदर आक्रमणमा घाइते भएर एक हप्तासम्म बेडरेस्टमै बस्नुपर्‍यो। ‘सडकमा हिँड्दै थिएँ पछाडिबाट आएर बाँदरले खुुट्टामा टोक्यो’, उनी भन्छिन, ‘एक हप्तासम्म काम गर्न नसक्ने बनायो।’ खाती अचेल एक्लै घरबाहिर निस्कन डराउँछिन्। ‘महिला र बच्चालाई देख्नै हुन्न, झम्टिन आउँछ’ उनी भन्छिन्, ‘बाँदर आतंक दैनिक बढ्दै गएको छ, बाँदरकै कारण घर छाड्नुपर्ने अवस्था आइसक्यो।’

बुटवल उपमहानगरपालिका वडा नं. १ का बाँदरबाट विभिन्न समयमा घाइते भएकाहरू वडा कार्यालयका जनप्रतिनिधि र सदस्यसँग। बाँदरको आक्रमणबाट आजित भएकाले समस्या समाधानका लागि यहाँका स्थानीयले जनप्रतिनिधिलाई पटकपटक गुनासो पोख्दै आएका छन्।

बाँदरले आक्रमण गरेपछि उपचारका लागि हुने खर्चले विपन्न परिवारलाई झनै समस्या पार्ने गरेको छ। ‘मेरो उपचार गर्दा चार हजार जति खर्च भयो’, नेहा भन्छिन्, ‘बाँदरले टोकेपछि उपचार गर्नेपर्‍यो, कम्तीमा यस्तो खर्च स्थानीय सरकारले व्यहोरे राहत हुने थियो।’

बुटवलमा महिनामा कम्तीमा १० देखि १५ जना मानिस बाँदर आक्रमणबाट घाइते हुने गरेका छन्।

पारी बुटवलमा बिहान र साँझपख घरको ढोका खोल्न सक्ने अवस्था छैन। बालबालिकाले खाजा वा खाना खाँदा बाँदरले खोसेर खाने गरेको छ। चर्को स्वरमा धपाउन खोज्दा झम्टिने गर्छ।

बाँदरले मिठाईपसलमा जुठो हाल्ने, किराना पसलमा राखिएका मिठाईका ठब्बाहरू बोकेर भाग्ने, सामान फाल्ने गरेकाले व्यापार चौपट भएको व्यवसायीको गुनासो छ।
‘खानेकुरा पकाएर राखेका भाँडाकुुँडा नै बोकेर हिँड्छ। किराना पसलमा मिठाईका डिब्बाहरू बोकेर दौडन्छ’, बुटवलका किराना पसले धीरेन्द्रमणि तुलाधरले भने।

पुरानो बुटवल, मैनाबगर, फूलबारी, गोलपार्क, चिडियाखोला, ज्योतिनगर, अमरपथ र कालिकानगर देवीनगरसम्म बाँदरको आतंक मच्चिएको छ। समस्या समाधानका लागि वडा कार्यालयमा गुनासो गरे पनि समाधान नभएको स्थानीय बासिन्दा बताउँछन्।

नियन्त्रणको छैन उपाय

बुटवल उपमहानगरपालिकाका वडा न. १ देखि ६ सम्मका वडाअध्यक्ष बाँदर आतंकको गुनासो सुनेर हैरान भएको बताउँछन्। यीमध्ये सबैभन्दा बढी समस्या बुटवल–१ मा छ। बाँदरको आक्रमणबाट घाइते हुने मानिसको संख्या बढेको, घरका सामानमा क्षति गराएको भनेर दिनहुँजसो गुनासो आउने गरेको कार्यवाहक वडाअध्यक्ष अशोक राईले बताए।

बाँदर नियन्त्रणका लागि नगरसभामा एजेन्डा पेस गरे पनि उपाय ननिस्किएको उनले जानकारी दिए। राई भन्छन्, ‘बाँदर नियन्त्रणका लागि आफुहरूले नगरसभामै एजेन्डा पेस गरेका थियौँ। समाधानको उपाय अझै निस्किएको छैन।’

बुटवल उपमहानगरपालिका–५ का वडाअध्यक्ष हरि श्रेष्ठले बाँदर नियन्त्रण गर्नेबारेमा अनेक उपायको खोजी भइरहेको बताए।

‘म वडाअध्यक्षमा निर्वाचित भएलगत्तै बाँदर नियन्त्रणमा चासो राखेको छुु, तर कसरी गर्ने, साह्रै जटिल रहेछ’, उनी भन्छन्। वडाले खोर बनाउन थाले पनि नियन्त्रणमा राख्ने विषयमा अन्योल रहेको उनले बताए।

‘वडाअध्यक्षहरूले प्रत्येक कार्यपालिकामा बाँदरकै विषय उठाउनुुहुन्छ’, बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले भनिन्, ‘बाँदर व्यवस्थापन कसरी गर्ने भन्ने उपायको खोजीमा छौँ।’

उनले बाँदर आतंक घटाउन ठूलो खोर बनाउने, आहारा व्यवस्थापन गर्ने वा अन्य केही उपायबारे छलफलमा भइरहेको जानकारी दिइन्। ‘बाँदरको व्यवस्थापनका लागि कार्यविधि बनाएर समस्या समाधान गर्ने योजनामा छौँ’, उनले भनिन्।

क्षतिपूर्ति पाउँदैनन् किसान

वन्यजन्तुबाट बाली नष्ट भए पनि क्षतिपूर्ति पाउन कठिन छ। क्षतिपूर्तिको दाबी गर्न गए पनि झन्झटिलो प्रक्रियाका कारण सहज नभएको पीडितहरू बताउँछन्। कृषि फार्म सञ्चालन गरेका केही व्यवसायीले राहत पाउने गरेका छन्। तर पनि किसानका लागि सजिलो छैन। धेरैजसो किसानले परम्परागत रूपमा खेतीपाती गर्छन्। उनीहरूसँग कागजपत्र नहुने भएकाले राहत र क्षतिपूर्तिका लागि पहल गर्न पाउँदैनन्।

किसानले प्रहरीमा मुचुल्का उठाएर क्षतिपूर्तिका लागि निवेदन लिएर आउने गरे पनि सबै किसानलाई सम्बोधन गर्न नसक्ने गाउँपालिका अध्यक्ष ज्ञवाली बताउँछन्। ‘बाँदर र बँदेलले बाली सखाप पार्‍यो भनेर उजुरी बोकेर आउँछन्। हामीले सकेको सहयोग त गर्छौँ। तर सबैलाई क्षतिपूर्ति दिन सक्दैनौँ’, उनले भने।

बाँदरको समस्या समाधानका लागि गत वर्ष तीन महिनाका लागि तीन जना हेरालुु राखिएको अध्यक्ष ज्ञवालीले बताए। ‘हेरालु राखियो, तर पनि समस्याको दिगो समाधान हुन सकेन। उपायको खोजीमा छौँ’, उनले भने।

‘नियन्त्रणको खास उपाय नभएकाले अब निकासका लागि संख्या घटाउने उपायमा जानुपर्छ’, उनको सुझाव छ। उनले नेपाली सेनालाई जिम्मा दिएर बाँदरको संख्या घटाउन सकिने बताए।

वन बढ्यो, कृषि घट्यो

बुटवलमा बाँदर आतंक

बाघले बाख्रा खान थालेपछि दाङमा सुरु भयो अध्ययन

प्रकाशित: २६ चैत २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast