काठमाडौँ- प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। बुधबार बाराको सिमरामा साधारणसभा सम्पन्न भएको हो। कम्पनीका अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे सभालाई जानकारी गराए।
अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमक निकायबाट चुक्ता पूँजीसम्बन्धी प्राप्त निर्देशनलाई दृष्टिगत गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको भन्दै बुधबार विशेष साधारणसभा बोलाइएको बताए।
दुवै कम्पनीको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा दायित्व मुल्यांकन (डीडीए) प्रतिवेदनको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरिनेछ। दुवै कम्पनी गाभिएपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बननेछ।
उक्त कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ रुपैयाँ बराबर हुनेछ। कम्पनी गाभिएपछि हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरिने अध्यक्ष अग्रवालले बताए।
सात वटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटल माध्यमबाट उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरू आपसमा गाभिने निर्णय गरिएको उनको भनाइ थियो।

                                             
                                             
                                             

