काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवार मनोनयनका लागि राजनीतिक दलहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ। सोमबार हुने उम्मेदवार मनोनयनका लागि उम्मेदवार, समर्थक र प्रस्तावकसहित २५ जनाभन्दा धेरैको हुल निर्वाचन अधिकृतको कार्यालय जान पाउनेछैन।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने छ। उम्मेदवारले मनोनयनमा जाँदा बाजागाजा पनि लैजान पाउनेछैन। वैशाख १० गते चितवन-२, तनहुँ १ र बारा-२ मा उपनिर्वाचन हुँदैछ।
आयोगका १० बुँदे निर्देशन
१) निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने,
२) उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने,
३) उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,
४)उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा/जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,
५) उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,
६) नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने,
७)उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,
८)मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,
९) हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने,
१०) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने ।