हवाई सुरक्षालाई किन गम्भीर रुपमा लिइँदैन : प्रदीप पौडेल

हिमाल प्रेस १९ चैत २०७९ १४:२८
12
SHARES
हवाई सुरक्षालाई किन गम्भीर रुपमा लिइँदैन : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्या देखापरेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरे।

कुनै जहाजको पांग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको भन्दै उनले सो समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको भन्दै उनले त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्न समेत गरे । उनले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दुःखद भएको बताए ।

‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन्। कुनै जहाजको पांग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति बनेको छ। हिजो मात्रै नेपाल वायुसेवा निगमको विमान दुबईबाट काठमाडौं उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे’ उनले भने।

उनले पछिल्लो रिपोर्टहरूले नेपालमा हवाइ दुर्घटना बढ्नुमा यान्त्रिक कारणभन्दा बढी व्यवस्थापकीय पक्ष दोषी देखिएको पनि बताए।

‘पछिल्लो रिपोर्टले प्रस्ट भन्छ– नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारणभन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन्। तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखबरजस्तै छ,’ उनले भने, ‘हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन्। तर, हाम्रोमा यस विषयलाई किन गम्भीरतापूर्वक लिइँदैन ? यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको विषयबाट हटेको छैन। त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ। त्यसैले यस सम्मानित संसद्मार्फत म सरकारलाई आग्रह गर्न चाहन्छु।’

उनले यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १९ चैत २०७९ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =