काठमाडौँ- नेपाली कांग्रेसले चितवनस्थित रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएको छ।
शनिबार कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सो क्याम्पसमा नेविसंघको उपस्थितिविना अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएको हो।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ।’
कांगेसले क्रियाशील विद्यार्थी संगठनसँगको कुनै समन्वयविना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र, धाँधलीरहित र निष्पक्षरूपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी भएको बताएको समेत विज्ञप्तिमा जनाइएको छ।