साङहाई एउटा अद्भुत सहर हो। त्यहाँको परिवेश सधैँ आकर्षक देखिन्छ। साङहाईबाट फर्किने बेला जोकोहीलाई पनि अब फेरि कहिले आउन पाइएला भन्ने आशा हुन्छ। त्यसैले यो सहर कति रमणीय रहेछ भन्ने पुष्टि हुन्छ।
सदीयौँदेखि विश्वकै एउटा विशाल, भव्य सहरका रूपमा प्रसिद्धि कमाएको साङहाई सहरको चर्चा गरेर कहिले सकिन्न। आधुनिकता, विज्ञान, प्रविधि र भौतिक संरचनाको विकासका साथै प्राचीनतम् विषयवस्तु, सांस्कृतिक पक्ष तथा भिन्नभिन्न समुदाय र देशका मानिसबीच मिश्रित संस्कृति यो सहरका विशेषता हुन्।
यसरी समाहित गराउने सहरको बन्ड क्षेत्र र आसपासका प्राचीन युरोपेली शैलीका भवन तथा पारिको गगनचुम्बी भवन यहाँको मन हर्ने ‘सगरमाथा बिन्दु’ का प्रमुख आकर्षणरू हुन्। यसबाहेक यहाँको स्थानीय खानादेखि अरू धेरै चीजबीच छन् जसमा मोहित पार्ने शक्ति छ।
यसै भएर नै होला, चिनियाँहरू साङहाईलाई मोतु पनि भन्छन्, अर्थात् रहस्यमय सहर। रहस्यमय साङहाईको पछिल्लो भ्रमणका क्रममा व्यस्त बजारमा ठूला, अग्ला भवनबीच सुनौलो गजुरसहितको प्यागोडा देखेँ। बाहिरी पर्खालमा रञ्जना लिपिसमेत देख्न पाएँ। विश्व प्रसिद्ध साङहाई सहर जहाँ विश्वका कुनाकाप्चाबाट आएका मानिस आफ्नो जीविका चलाइरहेका छन्, यहाँ नेपाली भूमिमा सर्वप्रथम प्रयोगमा आएको लिपि देख्दा औधी खुसी लाग्यो।
व्यस्त सडक बजारबीचमा देखिएको बडेमानको रञ्जना लिपीकृत भित्ताको भित्र मन्दिर पो रहेछ, जहाँ पूजाआराधना गर्ने श्रद्धालुको घुइँचोसमेत लाग्ने रहेछ। मन्दिरको नाम चिङआन रहेछ। मन्दिरको नामबाटै साङहाईको व्यस्त प्रसिद्ध बजार नानचिङ लुसमेत रहेको यो जिल्लाको नाम चिङआन रहेको पनि थाहा पाएँ।
चिङआन मन्दिर साङहाईका प्रसिद्ध मन्दिरमध्ये एक हो। सन् १९४५ मा यस मन्दिरलाई चिङआन नामकरण गरिएको थियो, जसको अर्थ शान्त र शान्तिमय हो। सन् १९८३ मा राष्ट्रिय संरक्षण सूचीमा समावेश यो मन्दिर सन् १९७२ मा आगलागी भएपछि सन् १९८० को दशकमा पुनःनिर्माण गरिएको थियो र सन् १९९० देखि सर्वसाधारणका लागि खुला गरिएको हो।
मन्दिर सन् १२१६ मा निर्माण गरेको बताइन्छ। यद्यपि यो मन्दिरलाई अर्कै ठाउँबाट यहाँ स्थान्तरण गरिएको थियो। भनिन्छ, यो मन्दिर पहिलोपटक सम्राट सुई छ्वानले छवु शासनकालमा थ्री किङडम्सको अवधि (इपू २४७) मा निर्माण गरेका थिए। दक्षिणी सोङ राजवंशकाल (११२७-१२७९) मा सो मन्दिरलाई अहिलको स्थानमा सारिएको थियो।
सम्बन्धित लेखअनुसार चिङआन मन्दिरमा मिङ वंशकालीन (१४ देखि १७औँ शताब्दी) ३.५ टनको घण्टी छ। यसैगरी छिङ वंशकालीन (१९औँ शताब्दी) आधुनिक वास्तुकला पनि छन्। साथै दक्षिणी तथा उत्तरी सोङ वंशकालीन (इपू ४२०-५८९) बुद्ध मूर्ति र विविध पुरातात्त्विक महत्त्वका वस्तु पनि छन्।
मन्दिरको अग्रभागमा अशोक स्तम्भको सम्झना दिलाउने खालका स्तम्भ देख्न सकिन्छ। पछिल्तिरको भवनमाथि अग्लिएको सुनौलो प्यागोडा चित्ताकर्षक छ।
यसरी बाहिरबाटै व्यस्त सडक बजारमा आउने नवआगन्तुकलाई यो एउटा सुन्दर मन्दिर भन्ने परिचय दिइरहेको छ। यद्यपि, मन्दिर परिसरको दुईतिरको पर्खालमा बडेमान अक्षरको रञ्जना लिपिलाई भने आउजाउ गर्ने बटुवा, पर्यटकका साथै धर्मावलम्बीहरूले पहिचान गर्न नसक्लान्। दुईतिरको पर्खालमा बडेमान अक्षरमा रञ्जना लिपिमा ‘ॐ मणि पद्मे हूँ’ लेखिएको छ।
प्रवेश शुल्कबापत पचास युआन खर्चेर भित्र प्रवेश गरेपछि त झनै काठमाडौँकै कुनै मन्दिर गएजस्तो लागेको थियो। म पुगेका बेला मन्दिर परिसरमा भिक्षुहरूको वन्दनाको आवाज पनि गुञ्जिरहेको थियो। धुप बाल्ने र ढोग गर्ने भक्तजनहरू एकनासले आइरहेका थिए।
मन्दिरको बीचभागमा ठूलो तीनखुट्टे धुपदानी जस्तो राखिएको थियो, जहाँ श्रद्धालुहरू सिका फाल्दै गरेका थिए। यसैगरी दुई तीन ठाउँमा राखिएका ससाना धुपदानीमा उनीहरू कागज तथा धुपहरू बालेर राख्दथे। प्राय धुप बाल्दै चारै दिशातिर तीन तीनपटक झुकेर ढोग्थे।
हालसम्म चीनमा देखेका मन्दिरमा यो केही फरक पनि थियो। छतमा सुनौला माछा र हात्ती बनाइएको थियो, जुन अरू चिनियाँ मन्दिरभन्दा फरक शैली हो। चिनियाँ शैलीका मन्दिरमा लहरै चार, पाँचवटा पशुपक्षीको मूर्ति हुने गर्दछ। यहाँ पनि त्यस्तो नभएको होइन तापनि हात्ती र माछा यहाँको आकर्षण थियो।
यसबाहेक टाढाबाटै देखिने सुनौलो प्यागोडाको आकर्षण बिछट्टै छ। सहरका अग्ला भवनबीच सुन्दर सुनौलो संरचना आँखैमा ठोकिन्छ। यो सुनौलो स्तूपमा पनि रञ्जना लिपिका साथै बुद्धका आँखा पनि कुँदिएको छ।
यसै मन्दिरमा चीनकै सबैभन्दा ठूलो जेड बुद्धमूर्ति छ। यो प्राचीन र भव्य मन्दिर साङहाईकै मुख्य बुद्ध मन्दिरमध्येको एक हो। थ्री किङडम्सको अवधिमा साङहाईमा बुद्ध धर्म फैलिएको मानिन्छ। यसरी इपू २४७ मा पहिलोपटक निर्माण गरिएको यो मन्दिरलाई बाढीका कारण सन् १२१६ मा स्थान्तरण गरेपछि छिङ वंशकाल सन् १८८० मा पुनःनिर्माण गरिएको थियो।
सन् १९६० को दशकमा यो मन्दिर भएको क्षेत्र एउटा प्लास्टिक कारखानामा रूपान्तरण गरिएको थियो। सन् १९७२ मा मन्दिरमा आगलागी भए तापनि वर्तमान समयमा यो एउटा पुरातात्त्विक सम्पदाका साथै आस्थाको केन्द्रका रूपमा रहिरहेको छ।
यस्तो प्राचीन मन्दिर र धेरैपटकको निर्माण र पुनःनिर्माण हुँदा पनि आफ्नो देशमा लुप्त रञ्जना लिपि यता जीवन्त पाउँदा खुसी हुने मौका मिल्यो। विदेशी भूमिमा र अरू विदेशीसमक्ष यो नेपालको लिपि भन्न पाउँदा गौरव महसुस गर्न पनि पाएँ।