‘हाटा’ले ग्रस्त संसद् : हाजिरमा १६०, बैठकमा ५०

हिमाल प्रेस १६ चैत २०७९ ८:०९ | Thursday, March 30, 2023
‘हाटा’ले ग्रस्त संसद् : हाजिरमा १६०, बैठकमा ५० अधिकांश सांसद अनुपस्थित रहेको प्रतिनिधिसभा बैठक।

काठमाडौँ- बुधबार प्रतिनिधिसभा बैठक चलिरहेको थियो। सत्तापक्ष र प्रतिपक्षी बेन्चमा अगाडिका रो (लहर) खाली थिए। जहाँ शीर्ष नेताहरुको सिट व्यवस्थापन गरिएको हुन्छ।  प्रतिपक्षी दलका सांसदहरूले मन्त्री खोजे। सत्ता पक्षका सांसदहरूले पनि प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको खोजी गरे। कांग्रेसका सांसद रामहरि खतिवडाले चाहिँ पूरै सांसदहरूको उपस्थिति अनिवार्य हुनुपर्ने बताए।

सांसद खतिवडाले व्याख्या गरे ‘…प्रधानमन्त्री विशेष कामले हुनुहुन्न होला। प्रतिपक्षी दलको त पहिलो, दोस्रो, तेस्रो र चौथो छाडेर पाँचौँ रोमा मात्रै माननीय सदस्य देखेको छु। अन्त (सत्तापक्षीको बेन्च) मा पनि पहिलो र दोस्रो रोमा माननीय सदस्यहरु देखेको छैन।’

बैठकको प्रारम्भमा सांसदहरुको बाक्लो उपस्थिति थियो। मध्यतिर पुग्दा बैठकमा धेरै कुर्सी खाली भए पछि सांसद खतिवडाले घुमाउरो शैलीमा सांसदहरू हाजिर गरेर टाप कसेको बताए। साथै उनले सबैको ध्यानाकर्षण गराए, ‘संसद् हाटा नबनोस्। हाजिर गर्ने टाप कस्ने माध्यम नबनोस् सभामुख महोदय!’

‘हाटा’ प्रवृत्ति अर्थात् हाजिर गरेर टाप कस्ने। प्रतिनिधिसभाको गएर हाजिर गर्दै टाप कस्ने सांसदहरूलाई व्यंग्य गर्न सांसद खतिवडाले प्रयोग गरेको शब्द हो, हाटा प्रवृत्ति।  खतिवडालाई ‘ध्यानाकर्षणका लागि माननीयज्यूलाई धन्यवाद’ भनेर थुमथुमाउन खोजेका सभामुख देवराज घिमिरेलाई केही बेरपछि अन्य सांसदहरूले फेरि ध्यानाकर्षण गरे।

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ लगायतले प्रश्न गरेपछि सभामुखले हाजिर गरेका सांसदहरू संसद् भवन परिसरमै रहेको हुन सक्ने विश्वास दिलाउन खोजे।

संसद्‌भित्र उपस्थितिको सवालमा प्रश्न उठाएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख घिमिरेले भनेका छन्, ‘संसद्मा उपस्थित भई हाजिरसमेत गरिसकेका माननीयज्यूहरू हामीलाई विश्वास छ यही हलको वरिपरि रहनुभएको होला।’ हाजिर गरेका सांसदहरू जहाँकहीँ भए पनि सभाकक्षभित्र आउने विश्वास गर्न उनले सांसदहरुलाई आग्रह गरे।’

प्रतिनिधिसभाको बैठकमा सांसद रामहरि खतिवडा। तस्बिर : रासस

संसद्‌मा हाजिर गर्ने तर बैठकमा निरन्तर नबस्ने माननीयको प्रवृत्ति नयाँ भने होइन। जब कुनै विधेयक अगाडि बढाउने प्रक्रिया सुरु हुन्छ त्यसबेला गणपूरक संख्या पुग्छ कि पुग्दैन भन्ने चिन्ताले संसद्लाई सताउने गरेको छ।

यसको पछिल्लो उदाहरण हो अनुगमन तथा मूल्यांकन विधेयक २०७८। फागुन १२ गते प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको थियो।

सभामुखले कार्यसूचीअनुसारको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा गणपूरक संख्याबारे प्रश्न उठ्यो। गणना गर्दा ५० जना मात्रै देखिए। संघीय संसद् सचिवालयको रेकर्डमा भने त्यस दिन १६० सांसदले हाजिर गरेको देखिन्छ।

त्यस दिन रोकिएको विधेयक अगाडि बढ्न झण्डै एक महिना लाग्यो। उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाले चैत ५ गने पारित गर्‍यो।  गणपूरकसम्बन्धी व्यवस्था संविधानको धारा ९४ मा छ। जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन।’

प्रकाशित: १६ चैत २०७९ ८:०९ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast