ब्याजदर समस्या तत्काल समाधान गर्न चेम्बरको माग

हिमाल प्रेस १४ चैत २०७९ १५:३४ | Tuesday, March 28, 2023
ब्याजदर समस्या तत्काल समाधान गर्न चेम्बरको माग

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थाले लिइरहेको चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र जोखिममा परेको बताए। ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन्,’ उनले भने, ‘ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन।’

यसअघि ऋण लिएकाहरूले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको पनि उनले औंल्याए।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४२ प्रतिशत हाराहरीमा पुगिसकेको उनले बताए।

आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकासिएको र रोजगारी सिर्जना हुन नसकेको उनको भनाइ थियो। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन्। संसदमा आफुहरूले अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराउने पनि उनले बताइन्।

प्रकाशित: १४ चैत २०७९ १५:३४ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast