कपिलवस्तु– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन्। श्रेष्ठ महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीसमेत हुन्। बैंकले उद्योगीसँग लिएको प्रिमियम ब्याजदर निकै बढी भएको भन्दै त्यसलाई तत्काल घटाउन श्रेष्ठले माग गरे।
चन्द्रौटामा मंगलबार आयोजित कार्यक्रममा उनले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘उद्योगी, व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिन नपाइने भन्दै दशकौँ पुरानो कालाबजारी ऐन लगाएर दुःख दिइन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामक चुपचाप छन्।’
सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए। वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब नेतृत्व गर्ने पालो आएको बताए।
‘महासंघमा मेरो संस्थागत संलग्नता लामो छ। यसले मलाई परिपक्क बनाएको छ। सोही अनुभवको आधारमा मैले नेतृत्वमा दाबी गरेको हुँ,’ श्रेष्ठले भने।