नदी नियन्त्रणका लागि म्याग्दीमा ५० करोडका योजना

हिमाल प्रेस ९ चैत २०७९ १६:३४ | Thursday, March 23, 2023
नदी नियन्त्रणका लागि म्याग्दीमा ५० करोडका योजना फाइल तस्बिर।

बेनी- म्याग्दी सदरमुकाम बेनीमा नदी कटान तथा बाढी नियन्त्रण गर्न ५० करोड रुपैयाँ लागतमा आठ योजना सञ्चालन भएका छन्। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी र आसपासका क्षेत्रमा कटान तथा बाढी नियन्त्रणका लागि करिब ५० करोड रुपैयाँ लागतमा नदी नियन्त्रण योजना कार्यान्वयनमा ल्याएको छ।

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए। ‘एउटा गतवर्षको र सात यो वर्षकामध्ये छ प्याकेजको ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ,’ उनले भने, ‘म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो।’

नौ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रौताह-बिएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ।

सो ठेक्कामार्फत गतवर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको थियो।

मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन पाँच करोड ७७ लाख रुपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए।

बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन दुई करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले काम गरिरहेको छ।

पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन तीन करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। बेनी नगरपालिका-९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटीले दुई करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको छ।

जलजलाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाख रुपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले काम गरिरहेको छ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको छ।

योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका प्राविधिकको निगरानीमा काम भइरहेको छ। बेनीका नगर प्रमुख सुरत केसीले नदी नियन्त्रण योजनालाई प्राथमिकता दिएर अनुगमन, सहजीकरण र निगरानी गरिएको बताए। रासस

प्रकाशित: ९ चैत २०७९ १६:३४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast